काठमाडौं। कोरोना महामारीपछि संक्रामक रोगप्रति संवेदनशील बनेको विश्वले अहिले चीनमा फैलिएको चिकनगुनिया भाइरसको प्रकोपलाई गम्भीर रूपमा लिएको छ।
दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा १०,००० भन्दा बढी संक्रमण रिपोर्ट भइसकेको जनाइएको छ। स्वास्थ्य विशेषज्ञहरूले यसलाई चीनमा यो रोगको अहिलेसम्मकै ठूलो प्रकोप मानेका छन्।
कोरोना महामारीको समयमा कडाइका साथ लागू गरिएको ‘शून्य-कोभिड नीति’लाई उदाहरण मान्दै, चिनियाँ सरकारले हाल चिकनगुनियासँग लड्न पनि क्वारेन्टाइन र लामखुट्टे नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। संक्रमित क्षेत्रहरूमा दिनमा पटक–पटक कीटनाशक छर्कने, बिरामीलाई तुरुन्तै रिपोर्ट गर्न र घरमै एकान्तवासमा बस्न निर्देशन दिइएको छ।
चिनियाँ विज्ञहरूका अनुसार तातो मौसम, जलवायु परिवर्तन र भाइरसको नयाँ प्रजातिका कारण यो प्रकोप फैलिएको हो। डेंगु र मलेरिया जस्तै, चिकनगुनिया पनि लामखुट्टेबाट सर्ने भएकाले गर्मीयाममा यसको जोखिम उच्च हुने बताइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पान अमेरिकन हेल्थ अर्गनाइजेशनले दिएको विवरण अनुसार, अगस्ट २०२५ सम्ममा विश्वभर करिब २.७ लाख मानिस यो रोगबाट प्रभावित भइसकेका छन्। ११० भन्दा बढीको मृत्यु भइसकेको र अमेरिका, युरोप तथा एशिया समेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ।
यसै सन्दर्भमा, CDC (Centers for Disease Control and Prevention) ले चीन र अन्य प्रभावित मुलुकहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन यात्रुहरूलाई चेतावनी दिएको छ। यो रोग सन् १९५२ मा तान्जानियामा पहिलो पटक पहिचान गरिएको थियो। चिकनगुनियाका लक्षणहरूमा उच्च ज्वरो, ज्वरोसँगै मांसपेशी दुख्ने, टाउको दुख्ने, थकान, वाकवाकी हुने र छालामा दाग देखिने छन्।
हालसम्म यो रोगको कुनै निश्चित औषधि छैन, तर लक्षणहरूको उपचार गरिन्छ। यद्यपि, अमेरिकामा यसको लागि खोप उपलब्ध भइसकेको जनाइएको छ।
चीनमा फैलिएको यो प्रकोपले जलवायु परिवर्तनको खतरासँगै संक्रामक रोगको खतरा अझै समाप्त नभएको स्पष्ट पार्दछ। स्वास्थ्य विशेषज्ञहरूले समयमै रोकथाम, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्यमार्फत मात्र यस्तो रोगको नियन्त्रण सम्भव हुने बताएका छन्।