काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। पार्टी सचिवालयको बैठकपछि सार्वजनिक निर्णय सुनाउँदै प्रवक्ता प्रकाश ज्वालाले यति धेरै जनताको ज्यान जाने घटनाको जिम्मेवारी लिनु पर्ने भन्दै उनीहरूलाई पदमा बसिरहन नमिल्ने स्पष्ट पारे।

प्रवक्ता ज्वालाले जेन जेड पुस्ताका युवाहरूले थालेको आन्दोलनप्रति समर्थन जनाउँदै सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारी निर्णयको कडा निन्दा गरे। उनले भने, ूयो अभिव्यक्ति स्वतन्त्रता विरोधी निर्णय हो। हामी नव युवाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछौं र आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौं।ू

उनका अनुसार, सामाजिक सञ्जाल बन्द गरिएपछि उत्पन्न भएको असन्तुष्टि र आक्रोश अब भ्रष्टाचार तथा कुशासनविरुद्धको आन्दोलनको रूपमा अगाडि बढ्नु स्वाभाविक हो। उनले सरकार हिंसात्मक दमनमा उत्रिएको आरोप पनि लगाए।

‘कुशासन र बेरोजगारीका विरुद्ध सडकमा आवाज उठाउनु स्वाभाविक हो। राज्यले अब सुशासन र रोजगारी सुनिश्चित गर्ने दायित्वबाट भाग्न पाउँदैन,’ उनले भने।

प्रवक्ता ज्वालाले आन्दोलनकारी युवाहरूप्रति अपिल गर्दै आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लैजान नदिन आग्रह गरेका छन्। साथै, सरकारले अहिले नै आन्दोलनकारीका मागहरू सम्बोधन गर्दै सामाजिक सञ्जाल तुरुन्त खोल्नुपर्ने माग पार्टीले राखेको छ।