काठमाडौं। राष्ट्रपतिको कार्यालय शितलनिवासबाट नेपाली सेनाका प्रमुख अशोक सिग्देल बाहिरिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँगको संवादपछि सेना प्रमुख सिग्देल बाहिरिएको शितलनिवास स्रोतले नेपालन्युजलाई जानकारी दियो।
“सम्माननीयज्यूसँगको संवादपश्चात् सेना प्रमुखज्यू भर्खरै बाहिरिनुभयो‚” स्रोतले भन्यो।
सेना प्रमुख बाहिरिए पनि हालसम्म सरकार गठनका लागि कुनै पनि सहमति भइनसकेको स्रोतले बताएको छ। जेन-जीका तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारिए पनि उनलाई संविधानअनुरूप कसरी सरकार प्रमुख बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। “हालसम्म संविधानअनुरूप कुनै पनि सहमतिको लाइन भेटिएको छैन‚” स्रोतले थप्यो।
यता‚ राष्ट्रपतिका सल्लाहाकारहरू भने जेन-जीका फरक फरक नेताहरूसँग संवादमा रहेका छन्। जेन-जीको माग र समाधानको बाटो खोज्न सल्लाहाकारहरू छलफलमा रहेको स्रोतले बतायो।