काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलका प्रतिस्पर्धात्मक खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

यसपटक फाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इंगल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उपाधि दाबेदार मानिएका यी चार टोलीले विश्वकपको फाइनल यात्राका लागि कडा चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन मंगलबार (जुलाई १४) डल्लास स्टेडियममा भिड्नेछन्। नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुने यो खेललाई विश्व फुटबलका दुई शक्तिशाली युरोपेली टोलीबीचको रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड बुधबार (जुलाई १५) एटलान्टा स्टेडियममा आमनेसामने हुनेछन्। साविक विजेता अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गर्न बलियो इङ्गल्यान्डको चुनौती सामना गर्नेछ।

दुवै सेमिफाइनलका विजेता टोलीबीच उपाधिका लागि आइतबार (जुलाई १९) न्युयोर्क–न्युजर्सी स्टेडियममा फाइनल खेल हुनेछ।

सेमिफाइनल तालिका:

फ्रान्स विरुद्ध स्पेन — मंगलबार, जुलाई १४
अर्जेन्टिना विरुद्ध इङ्गल्यान्ड — बुधबार, जुलाई १५

फाइनल:

आइतबार, जुलाई १९ (न्युयोर्क–न्युजर्सी स्टेडियम)