काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नख्खु कारागारबाट भागेकालाई तुरुन्तै आत्मसमर्पण गर्न कारागार प्रशासनले चेतावनी दिएको छ।
शुक्रबार प्रशासनले सूचना जारी गर्दै फरारहरूलाई तुरुन्तै कानुनी प्रक्रियामा आउन चेतावनी दिएको हो।

सम्पर्क हुन नआए कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनी बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ। ‘फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइसाथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुन:स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्छ’, कारागार प्रशासनले भनेको छ, ‘फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराइन्छ।’

नख्खु कारागारका सबै कैदीबन्दी भागेका छन्। अहिलेसम्म एक जना सम्पर्कमा आएको प्रशासनले जनाएको छ। सुन्धारा र नख्खुबाट मात्रै ४ हजार ८२३ जना कैदी भागेका थिए।

जेन-जी आन्दोलन अनियन्त्रित हुँदा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाहिर निस्किएपछि देशव्यापी जेल तोडेर भाग्ने क्रम सुरु भएको थियो। मंगलबार लामिछाने नख्खु कारागारबाट निस्किएका थिए। कारागार प्रशासनले चिठी दिएर निकालिएको बताए पनि त्यसको स्वतन्त्र पुष्टि कुनै निकायले गरेका छैनन्। तर, उनी निस्केपछि देशभरि कारागार तोडफोड गरी कैदी भाग्ने क्रम बढेको थियो।

कारागार ऐनअनुसार कारागारबाट भागेमा पाँच वर्षसम्म कैद, पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

यस्तै, कारागारको पर्खाल, झ्याल ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा, कारागारबाट गोप्य रूपमा भाग्न सकिने कुनै मार्ग बनाएमा १० वर्षसम्म कैद, एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। कारागारभित्र हुलदंगा गरेमा समेत त्यति नै सजाय हुने व्यवस्था छ।