काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

त्यो काण्ड

कोशी अञ्चलका खेलाडीविरूद्ध अन्यायपूर्ण निर्णय भएपछि राखेपका संरक्षक तत्कालीन अधिराजकुमार धीरेन्द्र मुर्दावादको नारा लाग्यो

२८ भाद्र २०८२
तत्कालीन कोशी अञ्‍चलका एथलेटिक्स खेलाडी नारायण यादव र पुरस्कार वितरण गरिरहेका राखेप संरक्षक अधिराजकुमार धीरेन्द्र।
अ+
अ-

३० चैत २०३७। जुन दिन खेल मैदानमा पहिलोपल्ट राजपरिवारका सदस्यविरुद्ध ‘मुर्दावाद’ को नारा लाग्यो। यतिबेला राष्ट्रिय खेलकुद परिषद्को संरक्षक अधिराजकुमारलाई नियुक्त गर्ने चलन थियो। नेपाली खेलकुदका पहिलो संरक्षक राजा महेन्द्रका भाइ बसुन्धराको निधन २०३४ सालमा भयो। यसपछि संरक्षकको भूमिकामा थिए, राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र। घटना हुँदा उनी संरक्षक नियुक्त भएको पनि तीन वर्ष बितिसकेको थियो।

लङजम्प, ट्रिपलजम्प र हाइजम्पमा स्वर्ण पदकको ह्याट्रिक गरिसकेपछि कोशी अञ्चलका एथलेटिक्स खेलाडी नारायण यादव अर्को कीर्तिमानको नजिक थिए। कोशीले उनलाई चार गुणा सय र चार गुणा चार सय मिटरको रिले स्पर्धामा पनि सहभागी गराएको थियो। त्यतिबेला कोशीको रिले टिममा यादवसँगै जितेन्द्र चौधरी, विनोद विष्ट र पुष्पराज ओझाजस्ता हस्ती सहभागी थिए। त्यसैले प्रशिक्षक विश्वप्रकाश थापा पहिलोपल्ट बागमतीको आधिपत्यलाई तोड्दै राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा कोशी नयाँ च्याम्पियन बन्नेमा ढुक्क थिए। तर, उनलाई के थाहा– त्यो राष्ट्रिय प्रतियोगिता कालान्तरमा नेपाली खेलकुदको ठूलो काण्डमा रूपान्तरण हुनेछ।

चार गुणा सय मिटर रिलेमा कोशीबाट दौडको सुरुवात यादवले गरेका थिए, बागमतीबाट रघुराज वन्तले। तर, रेफ्रीले अप्रत्यासित रूपमा यादवले ‘फल्स स्टार्ट’ गरेको भन्दै कोशीलाई ‘डिस्क्वालिफाइड’ गरेपछि झगडाले उग्र रूप लियो।

यसपछि अनुशासनको कारबाही भयो, १ सय २१ खेलाडीमाथि। नेपाली खेल इतिहासमा एकैपल्ट यति धेरै संख्यामा खेलाडीलाई अनुशासनको कारबाही भएको यो पहिलो र अहिलेसम्मकै ठूलो घटना हो।

रिलेअगाडि बागमती र कोशीको अंक बराबर थियो। दुवैले ८–८ स्वर्ण र ६–६ रजत जितेका थिए। वास्तवमा उपाधिको निर्णय नै रिलेको नतिजाबाट हुनेवाला थियो। चार गुणा चार सय मिटर रिलेमा कोशीलाई दोस्रो स्थानमा राख्दै बागमतीले स्वर्ण जितिसकेको अवस्थामा चार गुणा सय मिटरको रिले कोशीका लागि ‘गर या मर’ को स्थिति थियो। तर, यही स्पर्धामा कोशीलाई ‘डिस्क्वालिफाइड’ गर्ने निर्णय आयोजक नेपाल एमेच्योर एथलेटिक्स संघका लागि यति प्रत्युत्पादक बन्यो, टुँडिखेलनै रणभूमिमा परिणत भयो।

२०३७ सालअघि देशभित्र जति पनि एथलेटिक्स प्रतियोगिता आयोजना भए, त्यसमा बागमतीकै दबदबा थियो। बागमती देशकै राजधानीको टिमका रूपमा परिचित हुनुका साथै उत्कृष्ट प्रशिक्षण र व्यवस्थित खेल स्थलका कारण यहाँका खेलाडीहरूको ‘चुरीफुरी’ नै बेग्लै। यही प्रतियोगितामार्फत पहिलोपल्ट बागमतीलाई मोफसलको टिमले कडा चुनौती दिँदै थियो। त्यसैले बागमतीबाहिरका टिमहरू कोशीको पक्षमा उभिए।

पञ्चायतकालमा नेपाललाई पाँच विकास क्षेत्र र १४ अञ्चलमा विभाजन गरिएको थियो र राष्ट्रियव्यापी खेलकुदका सबै कार्यक्रम अञ्चलस्तरमा हुन्थे। काठमाडौंमा आयोजना भएको २० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा ‘ट्रयाक एन्ड फिल्ड’ तर्फ कुल २४ स्वर्ण पदकका लागि स्पर्धा भएको थियो। जसमा मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, बागमती, गण्डकी, लुम्बिनी, धौलागिरी, भेरी र कर्णाली गरी ११ अञ्चलका खेलाडीले भाग लिएका थिए।

स्पर्धामा धाँधली भएको आरोप लगाउँदै कोशीले खेल बहिष्कार गर्ने निर्णय गर्‍यो। खेलाडीहरूले पहिलोपल्ट राष्ट्रिय खेलकुद परिषद्का संरक्षक अधिराजकुमार धीरेन्द्र शाहविरुद्ध मैदानभित्रै नाराजुलुस गरे। कोशीको विरोधमा मेची र नारायणीका खेलाडी तथा पदाधिकारी पनि उभिए। टुँडिखेलमा धीरेन्द्रविरुद्ध नारा लाग्यो– ‘धाँधली गर्न पाइँदैन, अधिराजकुमार धीरेन्द्र शाह मुर्दावाद।’

नेपालका ख्याती प्राप्त धावक बैकुण्ठ मानन्धर। तस्बिर : श्याम चित्रकार।

त्यही वर्ष २० वैशाखमा नेपालमा जनमतसंग्रह भएको थियो। जनमतसंग्रहमा धाँधली गरेर पञ्चायतले ५४ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेको प्रजातन्त्रवादीको बुझाइ थियो। कोशीको त्यो विरोधलाई राष्ट्रिय खेलकुद परिषद्को तत्कालीन नेतृत्वले राजनीतिक चस्माले हेर्‍यो। यसपछि अनुशासनको कारबाही भयो, १ सय २१ खेलाडीमाथि। नेपाली खेल इतिहासमा एकैपल्ट यति धेरै संख्यामा खेलाडीलाई अनुशासनको कारबाही भएको यो पहिलो र अहिलेसम्मकै ठूलो घटना हो। त्यतिबेला कोशीबाट ५६, मेचीबाट ४२ र नारायणीबाट २३ खेलाडी कारबाहीमा परे।

उत्कृष्ट खेलाडीको मनोनयनमा शीर्षस्थानमा रहेका नारायण यादव यो घटनापछि कारबाहीमा परे। नेपालका ख्यातिप्राप्त धावक बैकुण्ठ मानन्धरलाई चिट्ठा पर्‍यो। उनले २०३७ सालको राष्ट्रिय प्रतियोगितामा ५ हजार र १० हजार मिटरमा मात्र स्वर्ण जितेका थिए। नारायणले हाइजम्पमा ६ फिट लामो राष्ट्रिय कीर्तिमानसहित लङजम्प र ट्रिपलजम्पमा गरी ३ स्वर्ण, सय मिटर दौडमा कास्य र चार गुणा चार सय मिटर रिलेमा रजत गरी कुल ५ पदकमा कब्जा जमाएका थिए।

“वास्तवमा त्यो राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडीको हकदार नारायण यादव थियो। तर, कारबाहीले गर्दा मलाई चिट्ठा पर्‍यो,” ४५ वर्षअघिको कुरा सम्झिँदै मानन्धर भन्छन्।

कोशी टिमका प्रशिक्षक विश्वप्रकाश थापा त्यो काण्डलाई दुईवटा दृष्टिकोणले व्याख्या गर्छन्। “नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जोडबलले त्यही साल जनमतसंग्रह भएको थियो। त्यतिबेला कोशी, मेची र नारायणीमा नेपाली कांग्रेसको संगठन बलियो देखियो”,  थापा भन्छन्, “ अर्को अञ्चलमा हामीजस्ता भोलेन्टियर प्रशिक्षक थियौं। केन्द्र (राष्ट्रिय खेलकुद परिषद्) मा पहिलेदेखि भारत, पटियालामा प्रशिक्षण कोर्ष गरेर आएका जागिरे प्रशिक्षक थिए। राजधानी बाहिरबाट आएको टिमले बागमतीलाई कडा टक्कर दिँदा उहाँहरूको प्रशिक्षणमा प्रश्न खडा हुने डर भयो।”

त्यो काण्डमा सबैभन्दा अन्यायमा परेका खेलाडी थिए, यादव। उनले उत्कृष्ट खेलाडी बन्ने मौका मात्र गुमाएनन्, प्रतिबन्धका कारण खेल नै छोडे।

“पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव शरदचन्द्र शाहले महसुस गर्नु भएछ। मलाई प्रशिक्षक बन्ने निम्तो गर्नुभयो। २०३८ सालमा एथलेटिक्स प्रशिक्षणका लागि पटियाला गएँ,” यादव भन्छन्।

उनी त्यो काण्ड हुनुमा नेपाल एमेच्योर एथलेटिक्स संघको तत्कालीन नेतृत्वलाई दोषी ठान्छन्। दशरथ रंगशालामा त्यतिबेला सेन्थेटिक ट्रयाक बिच्छ्याइसकेको थिएन। इँटाको धूलो पेलेर ट्रयाक बनाइएको थियो। अझ, दौडिनका लागि चुना छर्केर लेन बनाउँदा धेरै ठूलो प्राविधिक गडबडी देखियो।

मार्सल आर्ट खेलाडी पीए गुरुङसँग तत्कालीन अधिराजकुमार धीरेन्द्र। तस्बिर : पीए गुरुङको फेसबुकबाट।

मानन्धर त्यो घटना सम्झँदै भन्छन्, “प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघिसम्म ट्रयाक बनाउनेदेखि चुना लगाउने काम नभएको देखेपछि मैले नै तयार पारेको हुँ। मलाई ट्रयाक बनाउने अनुभव थिएन। जस्तो आउँथ्यो, त्यस्तै बनाएँ। यसले गर्दा थुप्रै गल्ती भयो।”

प्राविधिक कुरामा प्रश्न उब्जिएपछि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले मानन्धरलाई बोलाएका थिए। “मैले आफ्नो ब्रह्मले जानेको कुरा गरेको, आफू प्राविधिक मान्छे नभएको र संघका कुनै पदाधिकारीले ट्रयाक बनाउने कुरामा चासो नदेखाएको हुनाले खेलाडी भएको नाताले अग्रसर भएको जवाफ दिएँ,” उनी भन्छन्। आफ्नो काम नभए पनि प्रतियोगिता सञ्चालनका लागि मानन्धरले देखाएको अग्रसरताका लागि परिषद्ले तत्कालै एक हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो। “कारबाही गर्छन् जस्तो लागेको थियो। तर, पुरस्कृत पो गरियो। गजब लाग्यो,” उनी भन्छन्।

यो घटनाका कारण कोशीका नारायण यादवसहित पुष्पा भट्ट, गंगा मगर, पुष्पराज ओझा, दुर्योधनराज राई, राजभक्त प्रधानाङ्ग, आत्माराम उप्रेतीजस्ता स्टार खेलाडी प्रतिबन्धमा परे। २० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नारायणले ३, पुष्पाले २ तथा राजभक्त, दुर्योधन र गंगाले १–१ स्वर्ण जितेका थिए। प्रतिबन्धका कारण ६ महिनापछि काठमाडौंमा पहिलो ऐतिहासिक बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा कोशीका यी खेलाडी सहभागी भएनन्। एथलेटिक्सतर्फ २ वटा स्वर्णमा मात्र चित्त बुझाउनु पर्‍यो।

“हाम्रा लागि ठूलो दुर्भाग्य थियो। ६ महिनाअघि बागमतीलाई पदक तालिकामा कडा टक्कर दिइरहेको हामी पाँचौं स्थानमा झर्‍यौं,” प्रशिक्षक थापा सम्झन्छन्।

प्रतिबन्धका कारण मेचीकी उर्मिला ओली पनि सहभागी हुन पाइनन्। उनले एक सय मिटर स्प्रिन्टमा कोशीकी पुष्पा (रजत) र बागमतीकी सलिना भट्टराई (कास्य) लाई उछिन्दै स्वर्ण पदक जितेकी थिइन्। उनी दुई सय मिटर र महिला लङजम्पमा पनि रजत पदक विजेता भइन्। उनीलगायत थुप्रै स्टार खेलाडीको अनुपस्थितिमा बृहत् राष्ट्रियमा मेचीको प्रदर्शन पनि प्रभावित बन्न पुग्यो। २० औं राष्ट्रिय एथलेटिक्समा ३ स्वर्ण पदक जितेर मेची तेस्रो भएको थियो। तर, बृहत् राष्ट्रियमा पाँचौं स्थानमा खुम्चिनु पर्‍यो।

प्रतिबन्ध बेहोरेका धेरै खेलाडी यो काण्डका कारण पुनः खेलमा फर्किएनन्।