काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेनजी समूहको आन्दोलनका कारण अस्तव्यस्त बनेको पर्साको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्कन थालेको छ। आन्दोलनका कारण प्रभावित सरकारी सेवा र शैक्षिक गतिविधि आजदेखि सुचारु गरिने भएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शन र झडपपछि पर्सामा सरकारी कार्यालयहरूको सेवा प्रवाह ठप्प थियो भने अधिकांश विद्यालय बन्द रहेका थिए। तर, अहिले अवस्था सुधारोन्मुख देखिँदै गइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जानकारी दिएका छन्।

“हालैको आन्दोलनका कारण सेवा प्रभावित भएका कार्यालयले आइतबारदेखि नियमित रूपमा सेवाप्रवाह गर्न अनुरोध गरिएको छ,” कार्कीले भने, “आन्दोलनको क्रममा क्षतिग्रस्त कार्यालयका हकमा ‘सर्भिस डेलिभरी प्लान’ बनाई सकेसम्म चाँडो सेवा सञ्चालन गरिने व्यवस्था गर्न आग्रह गरिएको छ।”

यसैबीच, वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि आजदेखि विद्यालय खोल्न र आवश्यक सरसफाइ कार्य सुरु गर्न निर्देशन दिएको छ। महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयका कक्षाकोठा, शौचालय र खानेपानीको ट्याङ्की अनिवार्य रूपमा सरसफाइ गर्न र क्लोरिन राख्न आग्रह गरेका छन्।

“विद्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य अघि बढाउन अनुरोध गर्दछौं,” लामिछानेले भने।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि परिमार्जन गर्दै शनिबारदेखि रातको समयमा मात्र कर्फ्यु कायम राखेको छ। बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल पनि सामान्य हुँदै गएको छ।

पर्सामा आन्दोलनपछिको स्थायीत्वको संकेतस्वरूप सरकारी सेवा र शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन थालेको देखिएको छ।