काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेन-जी आन्दोलनपछि युवापुस्तामा एकाकार भएको पार्टी स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले युवापुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोलाई बुझ्न, सम्बोधन गर्न, भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु नै जेन-जी आन्दोलनको मुख्य कारण रहेको बताएका छन्।
“अब हाम्रोसामू जनतासँग, विशेषगरी युवापुस्ता एकाकार भएको, नीति-निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मा आएको छ,” उनले भनेका छन्, “तदनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु।”
उनले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने बताए। व्यक्तिगत रुपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भुलप्रति उनले क्षमा मागेका छन्।
