काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाउनुपरेको पार्टी केन्द्रीय कार्यालयले जानकारी गराएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकपश्चात् भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाबारे अस्पताललाई उद्धृत गर्दै यस्तो बताएका हुन्।
जेन-जी विद्रोहका क्रममा सभापति देउवा दम्पतीलक्षित आक्रमण भएको थियो। आक्रमणमा देउवाको गर्धनमाथिको भागमा चोट लागेको थियो।
विश्वकर्माका अनुसार देउवाको स्वास्थ्यबारे उपसभापति पूर्णबहादुर खड्काले आजको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरेका छन्। ”उहाँको टाउकोमा १२ टाँका लागेको र बोल्दा असहज हुने, उभिँदा चक्कर लाग्ने भएकाले डाक्टरले डिस्चार्ज नगरेको र अझै केही दिन अस्पताल बस्ने बिफ्रिङ भएको छ,“ विश्वकर्माले भने।