काठमाडौँ। सरकारले जेन-जी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक योगदान गर्न आह्वान गरेको छ। ५ असोजको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माण, पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहायता गर्न सरकारले आह्वान गरेको हो।
‘मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ। त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ। नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सह संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ’, अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय वाणिज्य बैँक, सिंहदरबारको खाता भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता नम्बर 1960100102070004 मा योगदान गर्न सकिने उक्त सूचनामा उल्लेख छ। साथै, यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने पनि उल्लेख छ।