काठमाडौँ। युलेन्स स्कुलबाट पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेत्री आरजु राणा अलग भएकी छन्। उनले युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी हुन्।
उनी युलेन्स स्कुल काठमाडौँ र ललितपुरको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा थिइन्। २४ भदौको प्रदर्शनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो।
युलेन्स स्कुलमा राणाको लगानी रहेको भन्दै प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। तर, युलेन्स एजुकेसन फाउन्डेसनले स्कुलमा राणाको कुनै लगानी नरहेको स्पष्ट पारेको छ।
फाउन्डेसनले जारी गरेको सार्वजनिक वक्तव्यमा भनिएको छ, ‘सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति पनि हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन। स्वामित्व त सरकारको अधीनस्थ हुन्छ। युलेन्सको सवालमा पनि आरजु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो।’
युलेन्स स्कुल युलेन्स एजुकेसन फाउन्डेसनले सञ्चालन गर्ने र उक्त फाउन्डेसनमा राणा ट्रस्टीसमेत नरहेको वक्तव्यमा उल्लेख छ। सार्वजनिक परिचय भएको व्यक्तित्व भएको कारण मात्र उनलाई विद्यालयको व्यवस्थापन समितिमा राखिएको तर उनको संलग्नतालाई लगानीकर्ताका रूपमा व्याख्या गरेर स्कुलमा तोडफोड र आगजनी गरिएको थियो।
तोडफोड र आगजनीले स्कुलको एक अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको, ८३ वटा गाडी ध्वस्त बनाइएको, पाँच वटा अत्याधुनिक भवन कामै नलाग्ने अवस्थामा पुगेको फाउन्डेसनले जनाएको छ।
युलेन्स स्कुलमा आगजनी भएपछि अभिभावकहरूले व्यवस्थापन समितिबाट राणाले राजीनामा गर्नुपर्ने माग गरेका थिए। विद्यार्थीहरूको सुरक्षाका लागि पनि राणाले विद्यालयसँगको आबद्धता त्याग्नुपर्ने अभिभावकहरूको दबाब थियो।
युलेन्स स्कुल सञ्चालन गर्न विदेशी नागरिक गाई युलेन्सको विशेष भूमिका रहेको युलेन्स फाउन्डेसनले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ। उनको योजना र आर्थिक सहयोगमा विद्यालय स्थापना भएको र पछि व्यवस्थापन समितिमा मात्रै आरजु राणा जोडिएकी थिइन्। ‘युलेन्स एजुकेसन फाउन्डेसनमा डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्तिविशेषको नाफा कमाउने निजी कम्पनी नै हो। यो मुनाफा वितरण नगर्ने कम्पनी हो,’ वक्तव्यमा भनिएको छ।
राणाले राजीनामा दिएपछि स्कुल व्यवस्थापन समितिको नयाँ अध्यक्षको चयन दसैँपछि गरिने फाउन्डेसनले जनाएको छ।
आगजनीका कारण पठनपाठन प्रभावित भएको युलेन्सले अध्ययन अध्यापनको नयाँ मार्गचित्रसमेत सार्वजनिक गरेको छ। त्यसअनुसार आईबीडीपीका पहिलो र दोस्रो वर्ष, कक्षा १०, ११ र १२ को अध्यापन दसैँपछि भाडामा लिइएको भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यसबाहेक कक्षा १ देखि ९ सम्मको अध्यापन भने अनलाइनबाट सञ्चालन हुने भएको छ। तोडफोड र आगजनीपछि उत्पन्न विषम परिस्थितिमा पूर्वप्राथमिक तहका बालबालिकालाई अन्य स्कुलमा भर्ना गरेर पठनपाठनको व्यवस्था मिलाउन पनि युलेन्सले अभिभावकलाई आग्रह गरेको छ। त्यसरी अन्य स्कुलमा लगिएका विद्यार्थीलाई आगामी वर्ष युलेन्समै कक्षा–१ मा भर्ना लिने प्रतिबद्धता स्कुलले जाहेर गरेको छ।