न्युयोर्क। हमासले शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिएको भाषणलाई ‘भ्रामक’ भएको भन्दै आलोचना गरेको छ।
नेतन्याहुले महासभालाई सम्बोधन गर्दै प्यालेस्टाइनलाई राज्यको दर्जा दिनु ‘पूर्ण पागलपन’ र ‘लज्जास्पद’ भनेका थिए। उनले हमासलाई चेतावनी दिँदै भने, “आफ्ना हतियार तल राख, हामीलाई भित्र पस्न देऊ र बन्धकहरूलाई मुक्त गर, नत्र हामी तिमीलाई फेला पार्नेछौँ र मार्नेछौँ।”
साथै, नेतन्याहुले हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूलाई सम्बोधन गर्दै भने, “हामीले तपाईंहरूलाई बिर्सेका छैनौँ – एक पल पनि। इजरायलका जनता तपाईंहरूसँगै छन्।”
नेतन्याहुको भाषणपछि हमासले टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ। बीबीसी उर्दुका अनुसार, विज्ञप्तिमा भनिएको छ, “नेतन्याहुले भ्रामक भाषण दिएका छन्, जसमा झुटको लामो सूची समावेश छ। झुटले सत्य परिवर्तन गर्न सक्दैन र संसारलाई इजरायलले गाजामा के गरिरहेको छ भन्ने स्पष्ट थाहा छ।”
हमासले संसारलाई गाजामा हत्या र विनाश रोक्न अपिल गर्दै इजरायललाई गाजाबाट फिर्ता हुन दबाब दिन आग्रह गरेको छ। साथै, अन्य मुलुकलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिन अनुरोध पनि गरिएको छ।