काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आसिफ शेख र सन्दीप जोराको शतकीय साझेदारीसँगै नेपालले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई १७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

शारजहा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

नेपालका आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। यस्तै, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भएको थियो।

सन्दीप १७.४ ओभरमा क्याच भए। यी दुईबाहेक मोहम्मद आदिल अन्सारीले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

वेस्ट इन्डिजका अकिल हुसैन र कायल मेयर्सले समान दुई विकेट लिए।