आरोहण
सगरमाथा आरोहणको तयारी र शरद् ऋतुका लागि सबैभन्दा सहज बन्दै मनास्लु
९ असोजमा टर्किस पर्वतारोही मेर्भे टेकिन यिल्दिज (३८)ले विश्वको आठौँ अग्लो ८,१६३ मिटर अग्लो मनास्लु हिमाल चढिन्। विभिन्न देशका साना हिमाल चढेकी उनी पहिलो पटक आठ हजार मिटर अग्लो हिमालको चुचुरोमा पुगेकी हुन्। “आठ हजार मिटर अग्लो हिमाल चढ्दा बिल्कुल फरक प्रकारको शारीरिक तथा मानसिक चुनौतीको सामना गर्नुपर्ने रहेछ,” मेर्भे भन्छिन्।
मेर्भेको मनास्लु चढ्ने अभियान ३० भदौमा परम्परागत पूजा गरेपछि सुरु भएको थियो। सुरुका दुई रात ‘क्याम्प वान’ र एक रात ‘क्याम्प टु’ मा बिताएपछि उनी पुन: आधारशिविरमा फर्किएकी थिइन्। तीन रात आधारशिविरमा आराम गरेपछि अन्तिम चरणको आरोहण सुरु भयो। त्यसपछि ‘क्याम्प वान’ र ‘क्याम्प टु’ मा एक एक रात बिताउँदै उनी ‘क्याम्प थ्री’ मा ५-६ घण्टा आराम गरेर मनास्लु शिखरमा पुगेकी थिइन्।
“आगामी वसन्त ऋतुमा ल्होत्से (८,५१६ मिटर) र सगरमाथा (८,८४८ मिटर) चढ्ने तयारीमा छु ,” मनास्लु उक्लिएपछि उत्साहित मेर्भेले भनिन्।
मेर्भे मात्र होइन, यसपटक मनास्लु चढ्ने अन्य पर्वतारोहीले पनि आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने अपेक्षा हिमाल आरोहण कम्पनीहरूले लिएका हुन्छन्।
“सुरुमा कोही आठ हजार मिटर अग्लो हिमाल चढ्न भनेर सम्पर्कमा आउँछ भने हामीले प्रस्ताव गर्ने भनेकै मनास्लु हो। त्यसपछि सगरमाथा भन्ने गरेका छौँ,” हिमाल आरोहण कम्पनी सेभेन समिटका अध्यक्ष मिङमा शेर्पा बताउँछन्।
पर्यटन विभागको ७ असोजको तथ्यांकअनुसार यस वर्षको शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन्। “यसपटक आरोहण गर्न गएकामध्ये ९० प्रतिशत सफल भएका छन्,” शेर्पा भन्छन्।

९ मे १९५६ मा ग्यात्सेन नोर्बु शेर्पा मनास्लु हिमालको शिखरमा पहिलोपटक पुगेका थिए। उनको त्यसबेला उनीसँगै हिमाल चढेका जापानी पर्वतारोही तोसियो इमानिसीले तस्बिर खिचेका थिए।
यस वर्ष शरद् ऋतुमा विभिन्न २३ वटा हिमाल आरोहणका लागि ६ असोजसम्म ५१६ जनाले अनुमति लिएका थिए। यीमध्ये साढे ७२ प्रतिशत मनास्लुका लागि छन्।
किलरबाट प्राक्टिस
९ मे १९५६ मा जापानी पर्वतारोही टोलीका तोसियो इमानिसी र ग्यात्सेन नोर्बु शेर्पा मनास्लु हिमालको शिखरमा पुगेका थिए। दोस्रो विश्वयुद्धमा पराजित जापानको मनोबल बढाउन मनास्लु हिमाल आरोहणले महत्त्वपूर्ण भूमिका खेलेको थियो। “दोस्रो विश्वयुद्धमा जुन तरिकाले जापान ध्वस्त भएको थियो, देशको मनोबल बढाउने काम मनास्लु हिमालले गर्यो,” हिमालसम्बन्धी अनुसन्धान गर्ने गैरनाफामूलक संस्था हाइटेड नेपालका संस्थापक अध्यक्ष अनिस दाहाल भन्छन्।
जापानले त्यतिबेला सुरु गरेको यो अभियान अहिले विश्वभरका पर्वतारोहीले नियमित राखेका छन्। त्यसयता २०२४ सम्म तीन हजार ७५० पटक मनास्लु चढिसकिएको छ। धेरै पटक आरोहण गरिएको आठ हजार मिटर अग्लो हिमालमा यो तेस्रो स्थानमा आउँछ।
सन् २०२५ सम्म १३ हजार ७३१ पटक सगरमाथा आरोहण भएको छ। हिमालयन डेटाबेसका अनुसार २०२४ मा नेपालतर्फबाट नौ हजार १५५ पटक र तिब्बतबाट तीन हजार ७३० पटक सगरमाथा आरोहण भएको छ। यस वर्षको वसन्त ऋतुमा मात्र नेपालबाट ६७८ र तिब्बततर्फबाट १६८ जनाले आरोहण गरेका छन्।

मेर्भे टेकिन यिल्दिज (बाँया) र अन्य मनास्लु आराेही।
आठ हजार मिटरभन्दा अग्ला हिमालमा बढी आरोहण गरिएकामा दोस्रो नम्बरमा चो-यु हिमाल आउँछ। हालसम्म चार हजार ८१ पटक चो-यु आरोहण भएको छ भने मनास्लुमा तीन हजार ७५० पटक।
“आठ हजार मिटर अग्लो हिमालमध्ये भौगोलिक रूपमा तिब्बततर्फबाट चो-यु (८,१८८ मिटर) चढ्न सबैभन्दा सजिलो मानिन्छ। त्यसपछि मनास्लु हिमालको नाम आउँछ,” पन्ध्रौँ चुलीका लेखक खिमलाल गौतम भन्छन्। दुईपटक सगरमाथाको आरोहण गरेका नापी विभागका सर्भेयर गौतमले हिमाल आरोहण विषयमा उक्त पुस्तक लेखेका छन्।
मनास्लु चढ्ने क्रममा सन् २०२४ सम्म ९० जनाको मृत्यु भएको छ। जसमध्ये वसन्त ऋतुमा ४६ जना, शरद्मा ४२ र हिउँदमा दुई जनाको मृत्यु भएको छ। जबकि शरद् ऋतुमा तीन हजार ४१६ जनाले आरोहण गरेका छन्। त्यसैगरी वसन्तमा ३१३ र हिउँदमा २२ जनाले आरोहण गरेका थिए।
“सन् १९७६ अघिसम्म अन्य हिमालजस्तै मनास्लु पनि शरद्मा नभएर वसन्तमा चढ्ने गरिन्थ्यो,” अनुसन्धाता दाहाल भन्छन्, “सन् १९७६ मा शरद्मा आरोहण गर्नेहरूले मौसम बढी स्थिर भेटे, त्यसपछि शरद्मै चढ्न थालियो। मृत्यु हुनेको संख्या निकै हुन थाल्यो।”
मौसम, भूगोल र पैसा
हिमालको आठ हजार मिटरभन्दा उचाइलाई मृत्यु क्षेत्र अर्थात् डेथ जोन मानिन्छ। समुद्री सतहमा जति हावा सघन हुन्छ, त्यो आठ हजार मिटर वा सो भन्दामाथिको क्षेत्रमा २१ प्रतिशत हुन्छ। त्यसैगरी हावाको दबाब पनि एक तिहाइ मात्रै हुन्छ। शरीरले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा शरीरका कोष तथा तन्तु बिग्रन थाल्छन्। मुटु र मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैनन्। मस्तिष्कले राम्रोसँग निर्णय लिन सक्दैन। आठ हजार मिटर र सोभन्दा माथिका क्षेत्रमा तीव्र वेगमा हावा चल्छ। अधिकांश पर्वतारोहीको मृत्यु आठ हजार वा सोभन्दा माथि भएको छ। मानिस जतिसुकै तन्दुरुस्त भए पनि, त्यतिको उचाइमा आफूलाई अनुकूलित बनाए पनि केही घण्टा बस्नसमेत मुस्किल हुन्छ। शरीर मर्न सुरु गर्छ।
कठिन भौगोलिक अवस्थिति, न्यून अक्सिजन, छिनमै परिवर्तन हुने मौसम, हिमपहिरोजस्ता कारण अग्ला हिमाल आरोहणलाई जोखिमपूर्ण मानिन्छ। हिमालअनुसार जोखिमको कारण पनि फरक फरक हुन्छ। जनशक्ति, बन्दोबस्ती, मौसमजस्ता विषयले त्यस्तो जोखिमलाई कम गर्न भूमिका खेल्छन्।

नेपाल पर्वतारोहण संघका उपाध्यक्ष मिङमा (डेभिड) ग्याबु शेर्पा पछिल्लो समय पर्वतारोहण क्षेत्रमा पर्याप्त दक्ष जनशक्ति, प्रविधिमा भएको विकास, विश्वसनीय मौसम पूर्वानुमानले जोखिम कम गरेको बताउँछन्। “अहिलेको जनशक्ति अनुभवी छ। लुगादेखि सबै कुरामा राम्रो हुँदै गएको छ। मौसमको पूर्वानुमान धेरै मिल्छ,” डेभिड भन्छन्, “यसले आरोहणलाई सहज र सुरक्षित बनाएको छ।” हिमालमा लैजाने वस्तु पनि हलुका हुन थालेकाले आरोहणलाई सजिलो बनाएको छ।
डेभिड आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। उनले २०१२, २०१५, २०१८ र २०१९ गरी चार पटक मनास्लुको आरोहण गरेका थिए। किलर माउन्टेन भनेर चिनिने ‘के टु’ हिउँदे आरोहण गरेर कीर्तिमान बनाउने १० पर्वतारोहीमध्ये उनी पनि एक हुन्। उनले सात पटक सगरमाथा आरोहण गरेका छन्। “मनास्लु बेस क्याम्पमा म वसन्त ऋतुमा पनि पुगेको छु। त्यस समय पूरै हिउँले ढाकेको हुन्छ। एउटा ढुंगा पनि देखिँदैन। तर शरद्मा त्यस्तो हुँदैन,” डेभिड भन्छन्।
वसन्त ऋतुमा सगरमाथा, मकालु र कञ्चनजंघाभन्दा मनास्लुमा बढी हिउँ पर्छ। त्यसैले उनी मनास्लु मात्रै नभएर अन्नपूर्ण र धौलागिरि हिमाल आरोहण गर्न सुझाव दिन्छन्। “मनास्लु चाहिँ सगरमाथा आरोहण तयारीका लागि बढी मानिन्छ,” डेभिड भन्छन्।
पछिल्लो समय सरकारले सगरमाथा चढ्नपूर्व सात हजार मिटरभन्दा माथिको नेपालको कुनै पनि हिमाल चढ्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको थियो। यससम्बन्धी विधेयक संसद्मा प्रस्तुत भए पनि अहिले अलपत्र छ। सरकारले पर्यटन ऐन, २०३५ को स्थानमा नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो।

“वसन्त र शरद् ऋतुमा धेरै चढिनेमा आमादब्लाम (६,८१२ मिटर) पनि हो। तर, यो सात हजार मिटर पनि होइन। सात हजारमाथि चढ्ने भनेको अहिले मनाङस्थित हिमलुङ (७,१२६ मिटर) र मनास्लु हो।
चीनले तिब्बतबाट आरोहणमा कडिकडाउ गर्दा नेपालमा मनास्लुसहितका हिमालमा आरोही बढाउन भूमिका मिलेको देखिन्छ।
पछिल्लो समय मनास्लुले आरोहीको संख्यामा चो-युलाई जित्न लागेको दाहाल बताउँछन्। १२ वर्षयता मनास्लु आरोहणको संख्या तीन हजार नौ हुँदा चो-यु ९३० पटक मात्र आरोहण भएको छ। मनास्लु आरोहण गर्न १५ हजार डलर लाग्छ भने चो-यु आरोहणमा ३५ हजार डलर लाग्छ। “आरोहण गराउने शेर्पा नेपालबाटै लैजानुपर्दा चो-यु आरोहण महँगो पर्न जान्छ,” डेभिड भन्छन्।
आठ हजार मिटर अग्लो हिमाल आरोहणमा नेपाली शेर्पाहरूको वर्चस्व छ।