आवरण
मानवीय र भौतिक क्षतिदेखि कृषि उत्पादनमा गहिरो असरसम्म
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा
भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा।
कविशिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘दशैँ’ को यो अंशले बडादसैँको उल्लासबारे मात्रै व्याख्या गरेको छैन, त्यसबेलाको मौसमी विशेषता पनि बोलेको छ। कवितामा भनिएअनुसार मनसुन सकिएपछिको सहज मौसमी अवस्थामा निर्धक्क भएर दसैँको रामरमाइलोमा मग्न भइन्छ।
तर, नेपालीजनले दसैँको बेला यस्तो बादल, बर्खा र हिलोमैलोविनाको अनुकूल मौसममा चाड मनाउन नपाएको धेरै समय भइसकेको छ। पछिल्ला वर्षहरूमा दसैँकै बेला भारी वर्षा भएर बाढी, पहिरो र डुबान जस्ता विपद्का घटना हुन थालेका छन्।
बझाङको जयपृथ्वी नगरपालिका–१, चिउरीका नरेन्द्र सिंहको परिवारलाई २०८१ सालको दसैँमा यस्तै भयो। दसैँको रौनक सुरु भइसकेको थियो। चितवनको रामपुर क्याम्पसमा कृषिमा स्नातक पढ्ने छोरा नवीन चाड मनाउन केही दिनमै घर फर्कने तयारीमा थिए। स्नातक अन्तिम वर्षको पढाइ पूरा गरेर डोल्पामा ‘ओजेटी’ (अन द जब ट्रेनिङ) गरेका नवीन त्यसको ‘रिपोर्ट’ बुझाउन क्याम्पस गएका थिए।
‘रिपोर्ट’ बुझाएपछि काठमाडौँमा पढ्ने बहिनीलाई लिएर घटस्थापनाअघि नै घर पुग्ने पारिवारिक सल्लाहअनुसार ११ असोज २०८१ मा उनी काठमाडौँ आउँदै थिए। उनी चढेको बस धादिङको धुनीबेसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा पुरियो। घटस्थापनाको ठीक एक साताअघि सिंह परिवार पुत्रशोकमा पर्यो।

२३ वैशाख २०८२ मा काठमाडौं महानगरपालिका-१९ विष्णुमती करिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जम्दा प्रभावित सवारी आवागमन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
यो खबर परिवारले तीन दिनपछि मात्र पाएको थियो। छोराका अन्तिम शब्द सम्झँदै नरेन्द्र भन्छन्, “डकुमेन्ट बुझाइसकेँ, भोलि धेरै पानी पर्ने कुरा छ, म काठमाडौँ हिँडेँ है भनेर साँझमा फोन गरेको थियो। त्यसपछि सम्पर्कविहीन भयो। तीन दिनपछि मात्रै ऊ चढेको गाडी पहिरोमा पुरिएको खबर आएको थियो।”
एक्लो छोरो गुमाएका उनलाई हरेक दसैँमा पुत्रवियोगको वेदनाले अझ मुटु पोल्छ।
विषम अर्थात् अप्रत्याशित मौसमी प्रणालीका कारण नेपालमा पछिल्ला दशकमा ठूलो क्षति गर्दै आएको छ। यस्तो मौसमी चरित्रले पारिरहेको असर बहुआयामिक छन्। अनियमित मनसुन, वर्षा याममा खडेरी, अतिवृष्टि अर्थात् विनाशकारी वर्षा, हिउँदमा पानी नपर्ने या कम पर्ने जस्ता मौसमी घटनाका कारण जनधनको क्षतिदेखि भौतिक संरचनामा नोक्सानी र कृषि उत्पादनमा असर पुगिरहेको छ।
मनसुनजन्य विपद्
असोज २०८१ मा झ्याप्लेखोलामा गएको पहिरोले नरेन्द्रको मात्रै नभएर अरू थुप्रै परिवारका सन्तान र आफन्त खोसेको थियो। ११ र १२ असोज २०८१ मा एक्कासि आएको भारी वर्षापछि त्रिभुवन राजपथको बीचमा रोकिएका बस र अन्य सवारीसाधनलाई पहिरोले पुर्दा नवीनसहित ३५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। भारी वर्षा हुँदै छ भन्ने मौसम पूर्वानुमान भएर पनि प्रहरी-प्रशासनले राजमार्ग क्षेत्रमा राति यातायात सञ्चालनमा रोक लगाउने सावधानीका उपाय नअपनाउँदा त्यति ठूलो संख्यामा मानवीय क्षति हुन पुगेको थियो।
मनसुनको अन्त्यतिर १० देखि १३ असोज २०८१ मा परेको अविरल र आरीघोप्टे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भयो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन २०८१’ प्रतिवेदनअनुसार उक्त तीन दिनको भारी वर्षाले देशभर २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता भए। १७८ जना घाइते भए। सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको थियो।
पछिल्ला दशकमा देखापरेको अप्रत्याशित मौसमी चरित्रले ठूलो क्षति निम्तिन थालेको छ। जल तथा मौसम विज्ञान विभागको मनुसन आगमन तथा बहिर्गमनसम्बन्धी रेकर्डअनुसार सामान्यतया नेपालमा औसत ११२ दिन मनसुन रहन्छ। वर्षभरि पर्ने कुल पानीको ८० प्रतिशत वर्षा यही अवधिमा हुन्छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट हुने मनसुन सामान्यतया ३० जेठमा पूर्वी नेपाल हुँदै प्रवेश गर्छ। तर, २०८१ सालको मनसुन औसतभन्दा दुई दिनअगावै २८ जेठमा भित्रियो र १३ दिन ढिला गरेर २६ असोजमा बाहिरियो। अर्थात् २०८१ सालको मनसुन १२५ दिनसम्म चल्यो।

गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
मौसम तथा विपद् जोखिमविज्ञहरू यस्तो खालको मनसुनी फेरबदललाई असामान्य मौसमी अवस्था मान्छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुसन्धाता दीनानाथ भण्डारी भन्छन्, “यो अवस्था कष्टप्रद, प्रकोपजन्य, धेरै दुःख दिने खालको हुन्छ। यसलाई विषम अथवा चरम मौसमी अवस्था पनि भनिन्छ।”
विश्व मौसम विज्ञान संगठनले पुनरावृत्ति, स्थान, समय वा फैलावटका हिसाबले असामान्य विशेषता भएको मौसमी घटनालाई विषम मौसमी घटना भनी परिभाषित गरेको छ। यस्ता मौसमी घटना स्थान, समयअनुसार फरक हुन सक्छन् र दुर्लभ रूपमा देखिन्छन्। तर, नेपालमा झन्डै एक दशकयता बर्सेनिजसो असामान्य मनसुनी अवस्था दोहोरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागको विश्लेषणअनुसार औसतभन्दा चाँडै मनसुन भित्रिने र ढिला बाहिरिने गरेर मनसुन अवधि लम्बिन थालेको छ। २०७४ सालयता मात्रै सात वटा मनसुन (२०७४, २०७५, २०७७, २०७८, २०७९, २०८१ र २०८२) औसतभन्दा चाँडै भित्रिएका थिए। २०७३ सालयता मनसुन ढिलो बाहिरिने गरेको छ।
नेपालमा मनसुन ढिलो बाहिरिने, छोटो अवधिमा भारी वर्षा हुने गर्दा विपद्का घटनाबाट ठूलो क्षति हुने गरेको छ। २०८२ सालको मनसुनको अन्त्यतिर दसैँकै समयमा इलाममा यस्तै भयो। टीकाको पर्सिपल्ट १८ असोजमा आएको भीषण वर्षापछि बाढी र पहिरोमा परेर इलाममा ३९ जनाको मृत्यु भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार १८ असोजको बिहान ८:४५ देखि १९ असोज बिहान ८:४५ सम्म इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर वर्षा भएको थियो। यो ४२ वर्षपछिको रेकर्ड ब्रेक वर्षा थियो।
२०८१ सालको मनसुन पनि नेपालमा ७७ वर्षकै इतिहासमा सबैभन्दा ठूलो पानी परेको थियो। भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता विपद् निम्त्याउँदा सडक, पुल, जलविद्युत्लगायत भौतिक पूर्वाधार, कृषि तथा पशुधन, शिक्षा, स्वास्थ्य र सिँचाइमा गरेर ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आकलन’ प्रतिवेदनमा उल्लेख छ।
बदलिँदो मौसमका बहुआयामिक असर
विश्व मौसम विज्ञान संगठनअनुसार सामान्यभन्दा धेरै ठूलो पानी पर्नु, छोटो समयमा धेरै वर्षा हुनु, अत्यधिक गर्मी हुनु, लामो समय पानी नपरेर खडेरी लम्बिनु, तातो हावाको लहर (लू), शीतलहर, असिनापानी, हुरीबतास, हिमपात अस्वाभाविक रूपमा बढ्नुलाई विषम मौसमी घटना भनिन्छ।
विषम मौसमी घटना नयाँ नभई परापूर्वकालदेखि नै हुँदै आएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुसन्धाता भण्डारी बताउँछन्। तर, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण यस्तो मौसमी घटनाको पुनरावृत्ति, क्षति गर्न सक्ने क्षमता र कहिले हुन्छ भन्ने अनिश्चितता बढेको उनको भनाइ छ। “केही विषम मौसमी घटना नयाँ ठाउँमा सरेका छन्। जस्तै, पहाडी उपत्यकामा पनि उखरमाउलो गर्मी हुन थालेको छ,” उनी भन्छन्, “अर्कातर्फ, जमिनमा जथाभाबी पूर्वाधार निर्माण, जोखिम क्षेत्रमा बसोबास आदि कारणले समग्र आर्थिक र सामाजिक प्रभाव बढेको छ।”

६ असार २०८२ मा अविरल वर्षाका कारण कैलालीमा डुबानमा परेका स्थानीयको उद्धार गर्दै सुरक्षाकर्मी। तस्बिर : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
अधिक वर्षा, मनसुनजन्य विपद्, हिमताल विस्फोटपछिको बाढीपहिरो, अत्यधिक गर्मी र चिसो, खडेरी जस्ता चरम मौसमी घटनाबाट परेका असर एकमा सीमित छैन, बहुआयामिक असर छन्। यस्तो बदलिँदो मौसमी प्रणालीबाट जनधनको क्षति बढेको छ। वर्षा नहुँदा रोपाइँमा ढिलाइदेखि पाकेर भित्र्याउन ठिक्क बाली डुबानमा पर्नेसम्मका समस्या, सिँचाइ कुलोमा क्षति आदिका कारण कृषि बाली उत्पादनमा असर परेको छ। सडक, जलविद्युत् आयोजना आदि पूर्वाधारमा करोडौँ रुपैयाँको क्षति हुने गरेको छ। मनसुन अवधि धकेलिँदा दसैँजस्ता प्रमुख चाडबाडको माहोल खलबलिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदन २०८१/८२ मा जलवायु परिवर्तनको प्रभावले बाढी, पहिरो, खडेरी, हिमताल विस्फोटको जोखिम, अस्थिर मौसमी प्रणालीलगायत पर्यावरणीय चुनौती थपिएको उल्लेख छ। नेपालको जलस्रोत तथा सिँचाइ क्षेत्रका अध्येता सरोज कार्की विश्वव्यापी तापक्रम बढ्दा हिउँ तथा हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिम बढेको बताउँछन्। “खडेरी, पानी संकट गहिरिएको छ। कृषि उत्पादनमा गिरावट आएको छ। यसले जीविकोपार्जनमा असर गर्दा बसाइँसराइ, सामाजिक द्वन्द्व र सांस्कृतिक विचलन बढेको छ,” उनी भन्छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुसन्धाता भण्डारी विषम मौसमी घटनालाई सोझै नियन्त्रण गर्ने प्रभावकारी प्रविधिको विकास भइनसकेको हुँदा हावापानी सुधारमा जोड दिनुपर्ने सुझाव दिन्छन्। भन्छन्, “विश्वव्यापी रूपमा लामो समयसम्म हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयासले हावापानी प्रणाली सुधार गर्न चाहिँ सकिएला, यसले विषम मौसमको प्रभाव घटाउन सकिन्छ।”
‘मौन विपद्’ बनेको खडेरी
नेपालका लागि अधिक वर्षाभन्दा खडेरी ठूलो विपद्का रूपमा प्रकट हुन थालेको जलवायुविज्ञ ङमिन्द्र दाहाल बताउँछन्। “खडेरी मौन विपद् हो, यसको असर पानीका स्रोत र पहुँचमा मात्रै सीमित छैन,” उनी भन्छन्, “वन डढेलो, बाली नोक्सानी, वायु प्रदूषण, उत्पादकत्वमा कर्मी तथा सरसफाइमा कमीलगायत समस्या लामो खडेरीसँग जोडिएका छन्।”
हिउँद र बर्सातमै खडेरी पर्दा कृषिमा आधारित जनजीवन प्रभावित भएको राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, २०२२’ ले औँल्याएको छ। प्रत्यक्ष अन्तर्वार्तामार्फत सर्वेक्षणमा सहभागी देशभरिका ६ हजार ५०८ घरपरिवारमध्ये ६५.४ प्रतिशतले खडेरी भोगिरहेको बताएका थिए। सर्वेक्षणमा सहभागी ५४.३ प्रतिशतले बालीनालीमा नयाँ रोगकीराको प्रकोप भोग्नुपरिरहेको र ८७ प्रतिशतले हरेक सिजनमा पानी पर्ने प्रवृत्तिमा परिवर्तन महसुस गरिरहेको बताएका थिए।
सर्वेक्षणमा एकै थलोमा २५ वर्षदेखि बस्दै आएका ४५ वर्षदेखि माथिका व्यक्तिहरू समेटिएको थियो।

लामो समय पानी नपरेपछि महोत्तरीको मटिहानी गाउँका चिन्तित किसान। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अर्का जलवायुविज्ञ मधुकर उपाध्या औसत हिउँदे झरीसमेत नपरी देशैभर खडेरी परेको यो लगातार चौथो वर्ष भएको बताउँछन्। “२०७९ सालयता लगातार औसत मात्राको हिउँदे झरी परेको छैन,” उनी भन्छन्।
खडेरीले मुख्य रूपमा कृषि बाली उत्पादनमा गिरावट आउने हुँदा सुक्खा खडेरी खप्ने वैकल्पिक बाली उत्पादनतिर लाग्नुपर्ने त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल सुझाउँछन्।
लामो समय खडेरी पर्दा आगलागी तथा वन डढेलोको जोखिम पनि उत्तिकै हुन्छ। गृह मन्त्रालयअन्तर्गत विपद् पोर्टलको अभिलेखअनुसार सन् २०१६ देखि २०२५ सम्मको एक दशकमा सबैभन्दा बढी क्षति आगलागीका कारण भएको छ। एक दशकमा २४ अर्ब ६१ करोड ५१ लाख ९० हजार बराबरको क्षति भएको छ। यो भनेको विपद् पोर्टलमा अभिलेख राखिएका सबैखाले विपद्बाट हुने क्षतिको ७५.७४ प्रतिशत बराबरको रकम हो।
यस्तै, पछिल्लो एक दशकमा आगलागी, भूकम्प, बाढी, पहिरो, आँधी, भारी वर्षा, वन डढेलो, चट्याङ, जनावर आक्रमण, हिमपातबाट ३२ अर्ब ५० करोड रुपैयाँको भौतिक पूर्वाधार तथा पशुचौपायाको क्षति भएको छ।
पग्लिँदै हिउँ, चुलिँदै हिमबाढी र पहिरो
हिमबाढी र हिमपहिरोको क्षति बर्सेनि दोहोरिन्छ। २४ असार २०८२ मा नेपाल-चीन सीमाबाट करिब ३५ किमिमाथि तिब्बती क्षेत्रको प्युरेपु हिमनदीमा रहेको सुप्राग्लेसियल ताल (हिमनदीको सतहमा बनेको) बाट एक्कासि पानी निकास हुँदा ल्हेन्दे खोला (भोटेकोसी नदी)मा आएको बाढीले ठूलो विनाश गरेको थियो। उक्त बाढीमा परी १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव कंकाल रसुवादेखि पश्चिम नवलपरासीसम्म त्रिशूली र नारायणी नदीमा भेटिएका थिए।
उक्त घटनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन प्रतिवेदनमा लेखिएको छ, ‘बढ्दो तापक्रम र हिमतालहरूको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएको छ भने हिमबाढीले महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुर्याएको छ।’

२६ असार २०८२ मा ल्हेन्दे खोलामा बाढी आएपछि स्याफ्रुबेँसी-टिमुरे सडकको अवस्था। तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
रसुवाको हिमबाढी नाम दिइएको उक्त घटनामा रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीन वटा जलविद्युत् आयोजनामा क्षति भएको थियो। भन्सार पासको प्रतीक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारी बगाएको र डुबाएको थियो। स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भयो।
यस्तै, १ जेठ २०८२ मा पानी नपरेरै आएको बाढी र पहिरोले हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल गाउँका १८ घरका ३२ जना विस्थापित भएका थिए। तिल्चुङ खोलाका पाँच वटा काठे पुल बगे। दुई घर र १५ किलोवाट क्षमताको एक जलविद्युत् गृहमा क्षति पुगेको थियो। करिब ४०० रोपनीमा सिँचाइ गरिँदै आएको कुलो बगाएको थियो। गाउँको खानेपानी लाइनमा पनि क्षति भएको थियो।
उक्त घटना ‘थर्मोकार्स्ट’ का कारण भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को संयुक्त प्रारम्भिक विश्लेषणले देखाएको थियो। इसिमोडका अनुसार उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमिनमुनि पूर्ण रूपमा जमेर बसेको ढुंगा, माटो, गेग्रानलाई ‘पर्माफ्रोस्ट’ भनिन्छ। तापक्रम वृद्धिलगायत कारणले ‘पर्माफ्रोस्ट’ पग्लिएर बग्ने प्रक्रियालाई थर्मोकार्स्ट भनिन्छ। प्राधिकरणका तत्कालीन प्रवक्ता रामबहादुर केसीका अनुसार बाढी आएको दिन हुम्लाको तापक्रम १५ बाट बढेर २२ डिग्रीमा पुगेको थियो।
इसिमोडमा वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ तिल गाउँको बाढीपहिरो नेपालको सन्दर्भमा नौलो भएको बताउँछन्। “तिल गाउँको यस घटनाबाट अब ‘पर्माफ्रोस्ट’ क्षयीकरणको समस्या नेपालमा पनि देखिन थालेको अनुमान लगाउन सकिन्छ,” उनी भन्छन्।
अध्ययनमा गएको प्राविधिक टोलीले समुद्री सतहदेखि पाँच हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल फेला पारेको थियो। प्राधिकरणका तत्कालीन प्रवक्ता केसीका अनुसार जमिनमुनिको भाग पग्लिएपछि कमजोर भागबाट कटान भएर गाउँतिर बाढी पसेको थियो।
३२ साउन २०८१ मा पनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे क्षेत्रमा आएको हिमताल विस्फोटपछिको बाढीले २५ वटा घर र अतिथिगृह, एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी र पुल पूर्ण रूपमा नष्ट गरेको थियो। थामेभन्दा माथिका माथिल्लो ङोले छो र तल्लो ङोले छो नाम गरेका दुई वटा हिमताल विस्फोट हुँदा लेदो र गेग्रानसहितको बाढी आएको प्राधिकरण र इसिमोडको अध्ययन प्रतिवेदन ‘थामे भ्याली हिमबाढी २०८१, कारण, प्रभाव र भावी जोखिम’ मा उल्लेख छ। दिउँसोपख आएको बाढी हुनाले मानवीय क्षति नभए पनि थामे गाउँका १३५ जना विस्थापित भएका थिए। बाढीले ठूलो मात्रामा ढुंगा, बालुवा र गेग्रान थुपारेर गाउँका धेरै खेतीयोग्य जमिन नष्ट गरिदियो। यस क्षेत्रका अरू हिमतालमा स्पष्ट निकास नभएको सुप्राग्लेसियल ताल रहेकाले भविष्यमा थप जोखिमको सम्भावना छ। अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यसको बाँधमा रहेको हिउँ पग्लिरहेकाले भविष्यमा यो ताल अझ ठूलो भई फुट्न सक्ने सम्भावना छ।’
यसैगरी, १९ मार्च २०२६ मा ‘हिन्दु कुश हिमालय क्षेत्रमा हिमतालको बदलिँदो स्थिति’ शीर्षकमा प्रकाशित इसिमोडको प्रतिवेदनले सन् १९९० देखि २०२० सम्ममा हिमनदीहरूको क्षेत्रफल १२ प्रतिशत र हिउँको मौज्दात नौ प्रतिशत घटेको तथ्य उजागर गरेको छ। ठूला हिमनदी पग्लिएर साना टुक्रामा विभाजित भइरहेका छन्। यसका कारण ०.५ वर्ग किलोमिटरभन्दा साना हिमनदीको संख्या बढ्दो क्रममा देखिए पनि तिनीहरूको कुल क्षेत्रफल भने निरन्तर घटिरहेको छ।
तापक्रम वृद्धिले खासगरी सन् २०१० पछि हिउँ पग्लिने क्रम तीव्र भएको छ। यसको प्रत्यक्ष असर गंगा, ब्रह्मपुत्र र सिन्धु जस्ता प्रमुख नदी किनारका बस्तीमा पर्ने देखिएको छ। नेपालका प्रमुख तीन नदी बेसिनमा हिमनदी पग्लिने क्रम बढेको छ। कर्णाली बेसिन क्षेत्रमा हिमनदीको कुल क्षेत्रफलमा २५.४ प्रतिशत, कोसी बेसिनमा २१.४ र गण्डकी बेसिनमा १८.५ प्रतिशतले गिरावट आएको छ।
त्रिवि वातावरण विज्ञान विभागका सहप्राध्यापक तथा ग्लेसियोलोजिस्ट (हिमनदीसम्बन्धी विषयका वैज्ञानिक) सुदीप ठकुरी साना तथा बरफभित्र जमिनको सतहमा बनेका हिमतालबारे पनि पर्याप्त अध्ययन गरेर जोखिम पहिचान गर्नुपर्ने बताउँछन्। “जमिनको तापक्रम बढिरहेको अवस्थामा हिमाली क्षेत्रमा हिउँभित्र हुने हिमताल जस्ता वाटरबडीको अध्ययन गरेर जोखिम पहिचान गरी न्यूनीकरणका उपाय अपनाउनु जरुरी भइसकेको छ,” उनी भन्छन्।
नेपालसहित हिन्दु कुश हिमालय क्षेत्रका हिमनदीहरू धेरै देशमा फैलिएका र तिनबाट बग्ने नदीले धेरै देशलाई जोड्ने भएकाले क्षेत्रीय र सीमापार जल सहकार्य गरी हिमतालसम्बन्धी जोखिम र क्षति न्यूनीकरण गर्नुपर्ने इसिमोडको अध्ययन प्रतिवेदनले सुझाव दिएको छ।
यो पनि पढ्नुहोस्–