काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न भनेका हुन्।
उनले ७ बुँदे अपिलसहित भिडियो सन्देशमा भनेका छन्, ‘हस्ताक्षर गर्नुस् है भनेर आफैँ टेलिफोन गरेर मैले कसैलाई पनि भनेको छैन। तर, सोध्ने मित्रहरूलाई भन्ने गरेको छु- हस्ताक्षर गर्नोस्!’
कतिपयले विशेष महाधिवेशनले पार्टीलाई झनै कमजोर बनाउँछ भन्ने तर्क गरेको सुनेको तर विशेष महाधिवेशन हुँदा पार्टी थप बलियो हुने शर्माले बताएका छन्। उनले भनेका छन्, ‘कतिपय साथीहरूले दोस्रो जिज्ञासा राख्नुभएको छ- विशेष अधिवेशनले त पार्टीलाई झनै कमजोर बनाउँछ भन्छन् नि त! मैले भन्ने गरेको छु- विशेष अधिवेशन विधानविपरीत होइन। हामी सबै जान्दछौँ, मान्छेको पनि अप्रेसन गरिँदा त्यसले थोरै असर निश्चय नै गर्छ, तर सफल अप्रेसनपछि मान्छे बिस्तारै तन्दुरुस्त हुन्छ।’
महामन्त्री शर्माले २४ असोजभित्र हस्ताक्षर गरेर पठाउन अनुरोध गर्दै भनेका छन्, ‘किनकि २६ गतेको बैठकभन्दा एक दिनअघि नै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने योजना साथीहरूले बनाउनुभएको हामीलाई बताउनुभएको छ।’
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २६ असोजबाट बस्दै छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्ने र नेतृत्व परिवर्तन गर्ने भन्दै हस्ताक्षर संकलन गरिरहेका छन्। नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।