काठमाडौँ। दक्षिण एसियाको आर्थिक वृद्धि यस वर्ष ६.६ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ। सँगै दक्षिण एसियामा निकट भविष्यमै उल्लेखनीय मन्दी आउन सक्ने चेतावनी पनि दिएको छ।
विश्व बैंकले मंगलबार दक्षिण एसिया क्षेत्रका लागि क्षेत्रीय प्रतिवेदन सार्वजनिक गर्दै व्यापार खुलापन र कृत्रिम बुद्धिमत्ता (एआई)को उपयोग बढाउने सुधारले रोजगारी र आर्थिक वृद्धि बढाउन सहयोग पुर्याउने बताएको छ।
सन् २०२६ मा दक्षिण एसियाको वृद्धिदर घटेर ५.८ प्रतिशतमा पुग्ने अनुमान विश्व बैंकको छ। यो अनुमान गत अप्रिलमा गरिएको अनुमानभन्दा ०.६ प्रतिशत बिन्दुले कम हो। विश्व अर्थतन्त्रको मन्दी, व्यापार नीतिसम्बन्धी अनिश्चितता, क्षेत्रीय राजनीतिक अस्थिरता र कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिले रोजगारीमा ल्याउने अवरोधहरूलाई आर्थिक वृद्धि घट्ने सम्भावित कारण भनिएको छ।
विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष जोहानेस जुतले भने, ‘दक्षिण एसियामा अपार आर्थिक सम्भावना छ। विश्वको सबैभन्दा छिटो आर्थिक वृद्धि हुने क्षेत्र पनि हो। तर, देशहरूले वृद्धि रोक्न सक्ने जोखिमहरूलाई राम्ररी सम्बोधन गर्नुपर्छ। एआईको फाइदा अधिकतम रूपमा उपयोग गर्ने, व्यापार अवरोधहरू घटाउँदै उत्पादकत्व बढाउने, निजी लगानी प्रवर्द्धन गर्ने र तीव्र गतिमा बढ्दो श्रमशक्तिका लागि रोजगारी सिर्जना गर्न सकिन्छ।’
दक्षिण एसियाली देशहरू अन्तर्राष्ट्रिय व्यापार र वित्तीय प्रवाहका हिसाबले विश्वमै सबैभन्दा कम खुला क्षेत्रहरूमध्ये पर्छन्। दक्षिण एसियाली देशहरूमा भएको उच्च शुल्कका कारण उत्पादन क्षेत्रमा प्रत्यक्ष असर परिरहेको र त्यसले रोजगारीमा समेत असर गरिरहेको विश्व बैंकको प्रतिवेदनमा भनिएको छ।
दक्षिण एसियाली देशमा उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा अन्य उदाउँदो अर्थतन्त्र भएका देशको तुलनामा दोब्बरभन्दा बढी शुल्क लाग्छ।
प्रतिवेदनले एआईको सम्भावनाको उपयोग गरी उत्पादकत्व र आम्दानी वृद्धि गर्न सुझाव दिएको छ। एआईको तीव्र विकासले विश्व अर्थतन्त्रलाई पुनःपरिभाषित गर्दै श्रम बजारहरू परिवर्तन गरिरहेको प्रतिवेदनमा भनिएको छ।
दक्षिण एसियाको श्रमशक्ति अझै पनि कृषि र श्रममा निर्भर भएकाले एआईको प्रभाव सीमित क्षेत्रमा मात्रै छ। तर व्यावसायिक सेवा र सूचना प्रविधिजस्ता क्षेत्रमा काम गर्ने शिक्षित युवा कामदारहरू बढी जोखिममा रहेको पनि प्रतिवेदनमा उल्लेख छ। एआईको सहयोगमा हुन सक्ने कामको क्षेत्रमा २० प्रतिशतले रोजगारी घटेको विश्व बैंकले भनेको छ। तर, दक्षिण एसियामा एआईसम्बन्धी दक्षता भएका कामहरू तीव्र गतिमा बढ्दै गएको र ती कामहरूले अन्य व्यावसायिक कामको तुलनामा करिब ३० प्रतिशत बढी पारिश्रमिक पाइरहेको प्रतिवेदनमा उल्लेख छ।
“व्यापार खुलापन बढाउनु र एआईको उपयोग विस्तार गर्नु दक्षिण एसियाका लागि रूपान्तरणकारी हुन सक्छ,” विश्व बैंककी दक्षिण एसिया प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेले भनिन्।