काठमाडौँ। नागरिक अगुवाहरूको एक समूहले प्रमुख दलका सभापति तथा अध्यक्षहरूले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिनुपर्ने बताएका छन्। बुधबार एक अपिल जारी गर्दै उनीहरूले लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भएको बताएका हुन्।
‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिनुपर्छ। यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ,’ अपिलमा भनिएको छ।
जेन-जी विद्रोहपछि सिर्जना भएको राजनीतिक परिवेशलाई मध्यनजर गर्दै विघटित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न पनि आवश्यक रहेको उनीहरूले बताएका छन्। ‘यदि जनभावनाअनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्ने वास्तविकता पनि स्मरण गराउन चाहन्छौँ,’ उनीहरूले भनेका छन्।
यस्तै ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने भएकाले राजनीतिक दलहरूलाई कुनै बहानाबाजी नगरी फागुन २१ को निर्वाचनमा सहभागी हुन पनि उनीहरूले अपिल गरेका छन्।
यसैगरी २३ भदौको सरकारी दमन तथा नवयुवाको हत्या र २४ गतेको विध्वंश, अराजकता, सार्वजनिक तथा निजी सम्पत्ति र सञ्चारगृहको तोडफोड, आगजनी र आक्रमणको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि उनीहरूले सरकारलाई अपिल गरेका छन्।
यी हुन् अपिल जारी गर्ने नागरिक अगुवाहरू :
१. अर्चना थापा
२. इन्द्र अधिकारी
३. उद्धव प्याकुरेल
४. उत्तमबाबु श्रेष्ठ
५. कसमस विश्वकर्मा
६. कृष्ण खनाल
७. केदारभक्त माथेमा
८. केशव दाहाल
९. खगेन्द्र संग्रौला
१०. गेजा शर्मा वाग्ले
११. चरण प्रसाई
१२. चन्द्रकिशोर
१३. झलक सुवेदी
१४. दिनेश त्रिपाठी
१५. दीपेश घिमिरे
१६. दोभान राई
१७. तारानाथ दाहाल
१८. तुलानारायण शाह
१९. भोजराज पोखरेल
२०. मुमाराम खनाल
२१. मीना पौडेल
२२. रजनी ढकाल
२३. राजाराम गौतम
२४. लोकराज बराल
२५. विद्याधर मल्लिक
२६. विनोद सिंजापति
२७. संगीता लामा
२८. सञ्जीव उप्रेती
२९. श्रवण मुकारुङ
३०. युग पाठक