काठमाडौं। जेन-जी समूहले आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरीले माइतीघर क्षेत्रमा प्रहरी परिचालन गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार माइतीघर क्षेत्रमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको बताए।
माइतीघर क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जेन-जीलगायत कुनै पनि समूह भने माइतीघरमा नपुगेको भट्टराई बताउँछन्।
जेन-जी अगुवा सुदन गुरुङको समूहले बिहीबारदेखि माइतीघरमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए। माइतीघरमा धर्ना-प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन।
गुरुङको समूहले सोमबार पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
लगत्तै भोलिपल्ट एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र गुरुङविरूद्ध जाहेरी दिएका थिए। दुई समूह एकले अर्कोविरूद्ध जाहेरी परेपछि प्रहरीले दुबै जाहेरी जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगमा पठाउने तयारी गरेको छ।
यसअघि, बुधबार बेलुका गृह मन्त्रालयले वार्ता र संवादबाटै समस्या समाधान गर्नुपर्ने भन्दै धर्ना र प्रदर्शन नगर्न अनुरोध गरेको थियो।