टिप्पणी

जेन–जी विद्रोहपछि कांग्रेसमा ‘डि–फ्याक्टो’ सभापतिका रूपमा उपसभापति पूर्णबहादुर खड्का सक्रिय हुनुमा देउवाकै सम्मति

२४ आश्विन २०८२
पूर्णबहादुर खड्का र शेरबहादुर देउवा। तस्बिर : नेपालन्युज
अ+
अ-

जेन–जीको विद्रोहपछि विकसित राजनीतिक परिदृश्यमा २८ भदौ र ३ असोजमा भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले सञ्चालन गरे। बिहीबारदेखि भइरहेको कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता पनि खड्काले नै गरिरहेका छन्।

राजनीतिक दलको जीवनमा ‘कार्यवाहक नेतृत्व’ विशेष परिस्थितिमा सिर्जना हुन्छ। आठ दशक लामो इतिहास बोकेको मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले यही परिस्थितिबाट गुज्रिरहेको छ। गत २३ र २४ भदौको जेन–जी विद्रोहले पुराना दलको नेतृत्वमा नयाँ अनुहारको अपरिहार्यता बोध गराएपछि दोस्रो कार्यकालको सँघारमा पुगेका सभापति देउवा चर्को दबाबमा छन्।

निकटवर्तीका अनुसार देउवा आफूसँगका विकल्पमध्ये विश्वासपात्रलाई कार्यवाहक सुम्पिएर विश्राम लिने ‘मुड’ मा पुगेका छन्। देउवाले यस्तो निर्णय लिएमा खड्का औपचारिक रूपमा नेपाली कांग्रेसको आठौँ कार्यवाहक सभापति बन्नेछन्।

अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको कांग्रेसमा नेतृत्वको बदली नौलो होइन। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको बीजबाट अंकुरित नेपाली कांग्रेसमा सोही वर्ष कार्यवाहक सभापतिले नेतृत्व गर्ने परिस्थिति बन्यो। कांग्रेसको आह्वानमा २१ फागुन २००३ देखि विराटनगरमा मजदुर आन्दोलन सुरु भयो। आन्दोलनकै क्रममा कार्यकारी अध्यक्ष बीपी कोइरालासहित गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्मालगायत पक्राउ परे। बीपी थुनिएपछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष भए। कांग्रेसको जीवनमा कार्यवाहक नेतृत्व सम्हाल्ने उनी पहिलो व्यक्ति हुन्।

कार्यवाहक अध्यक्षकै हैसियतमा २७–२८ चैत २००३ मा बिहारको जोगबनीमा सम्मेलन गरेका मातृकाले लामो समय नेतृत्व गर्न पाएनन्। भारत सरकारले उनीविरुद्ध मुद्दा चलाएपछि डिल्लीरमण रेग्मी कार्यवाहक अध्यक्ष तोकिए। भदौ २००४ मा जेलमुक्त भएका बीपी दोस्रो महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भए। यसबीच काठमाडौँमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरूले आन्दोलन घोषणा गरे। आन्दोलनलाई ऊर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौँ आएका बीपी फेरि पक्राउ परे। मातृका दोस्रोचोटि कार्यवाहक अध्यक्ष बनाइए।

राजा महेन्द्रको २०१७ सालको ‘कू’ ले कांग्रेसको जीवनमा अर्को कठिन परिस्थिति निम्त्यायो। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति बीपीसहित कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह गिरफ्तार भए। व्यक्तिगत कामको सिलसिलामा कलकत्तामा रहेकाले पक्राउ हुनबाट जोगिएका सुवर्णशमशेर राणालाई कार्यवाहक सभापति बनाइयो।

कांग्रेसमा सुशील कोइरालाको मृत्युपछि रामचन्द्र पौडेलले कार्यवाहक पाएको अवस्थाबाहेक अन्य समयमा कार्यवाहकको जिम्मेवारी तात्कालिक नेतृत्वका विश्वासपात्र र परिस्थिति सम्हाल्न सक्ने नेताले मात्र प्राप्त गरेका छन्। उपसभापति खड्का देउवाका विश्वासपात्र हुन्।

‘कू’ पछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन। राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका साथ १६ पुस २०३३ मा बीपी भारत प्रवासबाट स्वदेश फर्किए। उनीविरुद्ध मृत्युदण्ड माग दाबी गरिएका राजकाजसम्बन्धी आठवटा मुद्दा विचाराधीन थिए। दुईवटा सशस्त्र क्रान्तिमा असफलता बेहोरेपछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बीपी अग्रसर थिए। त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका कृष्णप्रसाद भट्टराईलाई ५–६ कार्तिक २०३४ को पटना सम्मेलनबाट कार्यवाहक सभापति बनाइयो।

लोकतन्त्र पुनर्बहालीपछि भने विशेष घटनाक्रममा कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको देखिन्छ। २०५९ सालमा नेपाली कांग्रेस विभाजित भई शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को स्थापना भयो। ७ असोज २०६४ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक)बीच एकीकरण भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देउवा वरिष्ठ नेता र सुशील कोइराला कार्यवाहक सभापति तोकिए।

असोज २०६७ मा सम्पन्न बाह्रौँ महाधिवेशनबाट सभापति निर्वाचित सुशीलको पदमा रहँदै २६ माघ २०७२ मा मृत्यु भयो। त्यसपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेल कार्यवाहक सभापति बने। उनकै नेतृत्वमा एक महिनापछि फागुनमा तेह्रौँ महाधिवेशन सम्पन्न भयो।

बदलिएको परिस्थिति
जेन–जी विद्रोहले गराएको नेतृत्व परिवर्तनको बोध, सभापति देउवाको ढल्किँदो उमेर, विद्रोहका क्रममा भएको सांघातिक हमलाले प्रतिकूल बनेको स्वास्थ्य र पार्टीभित्र उनीविरुद्ध भएको मोर्चाबन्दी। यी सबै प्रतिकूलताले देउवालाई नेतृत्वलाई निरन्तरता दिन कठिन छ। स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का र निकट नेताहरूले महाधिवेशनसम्मै नेतृत्व गर्न आग्रह गरिरहे पनि उनी खड्कालाई कार्यकारी जिम्मेवारी सुम्पेर बरु संरक्षक बस्ने योजनामा छन्। त्यसैले पनि हुनसक्छ, जेन–जी विद्रोहपछिको परिस्थिति सम्हाल्न खड्का ‘डि–फ्याक्टो’ सभापतिका रूपमा सक्रिय छन्।

पूर्णबहादुर खड्का। तस्बिर : नेपालन्युज

२८ भदौको बैठकमा प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित थिए। बैठकले ‘शान्ति र संविधानको पक्षमा, संसद् विघटनको असंवैधानिक कदमको विपक्षमा’ धारणा सार्वजनिक गरेको थियो। खड्काले पदाधिकारी नरहेका शेखर कोइरालालाई बैठकमा बोलाएका छन्।

जेन–जी विद्रोहले निर्माण गरेको ‘स्पेस’ मा पार्टीभित्र अन्तरसंघर्ष चलिरहँदा खड्काले समन्वयकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। प्रतिपक्षी खेमाका नेता शेखरदेखि सभापति देउवा समूहका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेतासँग उनी संवादमा देखिन्छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग राखेर सुरु गरेको हस्ताक्षर अभियान होस् वा नियमित महाधिवेशनको पक्षमा उठेको आवाज, खड्काले नै परिस्थिति सम्हालिरहेका छन्।

नेपाली कांग्रेसको विधानअनुसार सबै तहका पदाधिकारीको पदावधि चार वर्ष हुन्छ। विशेष परिस्थितिमा एक वर्ष थप हुने प्रावधान छ। कार्यवाहक नेतृत्वले यही पदावधिको केही समय लिने हो।

सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने, नेतृत्वले कार्यवाहकको जिम्मेवारी आफ्नो विश्वासपात्रलाई दिने चलन छ। कांग्रेससँग कार्यवाहक सभापतिले विश्वासघात गर्दा २००४ सालमा पार्टी विभाजनसमेत भएको थियो। उतिबेला बीपी कोइराला जेलमा हुँदा कार्यवाहक बनाइएका डिल्लीरमण रेग्मीले उनी रिहा हुँदा पद छोड्न नमानेपछि कांग्रेस विभाजन भएको थियो।

कांग्रेसमा सुशील कोइरालाको मृत्युपछि रामचन्द्र पौडेलले कार्यवाहक पाएको अवस्थाबाहेक अन्य समयमा कार्यवाहकको जिम्मेवारी तात्कालिक नेतृत्वका विश्वासपात्र र परिस्थिति सम्हाल्न सक्ने नेताले मात्र प्राप्त गरेका छन्। उपसभापति खड्का देउवाका विश्वासपात्र हुन्। उनी २०५९ मा पार्टी विभाजन भएपछि निरन्तर देउवाको साथमा छन्।

१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘कू’ पछि हिरासतमा परेका देउवाले आफू नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को कार्यवाहक सभापतिको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिएका थिए। देउवाले हिरासतमुक्त भएपछि पनि श्रेष्ठलाई नै जिम्मेवारी दिए। गोपालमानले पार्टीका तर्फबाट २०६२/६३ को आन्दोलनमा नेतृत्व गर्नेदेखि तत्कालीन विद्रोही माओवादीसँगको १२ बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत गरे। गोपालमानकै नेतृत्वमा भएको महाधिवेशनबाट देउवा सभापति चुनिए।

जेन–जी विद्रोहपछि कांग्रेसमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको आवाज उठिरहेको छ। सम्भवतः आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय लिनेछ। नेपाली कांग्रेसको आठ दशक लामो पार्टी जीवनमा एकपटक मात्र १० जेठ २०१४ मा विशेष महाधिवेशन भएको थियो। प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दासमेत मुलुकमा निर्वाचन हुन नसकिरहेको अवस्थामा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशनबाट निर्वाचित बीपी कोइराला नेतृत्वको कांग्रेसले राजा महेन्द्रलाई आमनिर्वाचन गराउन बाध्य बनाउँदै दुई तिहाइ जनमत पाएको थियो। अहिलेको विशेष महाधिवेशनको माग भने पार्टी रूपान्तरणको मुद्दामा केन्द्रित छ।

अब नियमित महाधिवेशन होस् वा विशेष महाधिवेशन, जेन–जी विद्रोहले नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणका लागि मार्गनिर्देश गरिसकेको छ। देउवाले आगामी महाधिवेशनबाट विश्राम लिने भनेकै थिए। परिस्थितिले नेतृत्व हस्तान्तरणको ‘डेडलाइन’ अलि अगाडि सारिदिएको छ। लाग्छ, अब देउवाले विश्वासपात्र खड्कालाई महाधिवेशनको समेत कार्यबोझ सम्हाल्ने गरी कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिन ढिलाइ गर्नेछैनन्।