काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

राजनीति

कोइरालाले भने– अद्यावधिक गरे पार्टीमा रहन्नँ।

१४ जेष्ठ २०८३
सभापति गगनकुमार थापा, नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्का।
अ+
अ-

नेपाली कांग्रेसका सभापति गगन थापा र मध्यमार्गी मानिएका नेता डा. शेखर कोइरालाबीच संवाद टुटेको तीन साता बितेको छ। पछिल्लो पटक २२ वैशाखमा भेटेका दुई नेताबीच टेलिफोन सम्पर्कसमेत भएको छैन। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको विषयले दुवैबीच दूरी बढेको हो।

२७ पुसको विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएपछि देउवा पक्ष कांग्रेसको आधिकारिकताबारे निर्णय माग गर्न निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको थियो। ६ वैशाखमा सर्वोच्च अदालतले थापालाई कांग्रेसको आधिकारिकता दियो। लगत्तै दुवै पक्षलाई समेटेर जाने सन्देश दिन थापाले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई भेटेका थिए। १५औँ महाधिवेशनमा मिलेर जानुपर्ने भन्दै उनले सदस्यता अद्यावधिकलाई ‘अस्त्र’ बनाए। असोजभित्रै १५औँ नियमित महाधिवेशन गर्ने योजनामा उनी सदस्यता नवीकरण, वितरण र अद्यावधिकको कार्य प्रारम्भ गर्ने निचोडमा पुगे।

त्यसअघि नै थापाले सदस्यताको विषयमा कोइरालासँग कुरा गर्न चाहेका थिए। तर, कोइरालासँग सुरुमै सदस्यता अद्यावधिकको प्रसंग ननिकाल्ने रणनीति अपनाए । त्यसैले कोइरालालाई वरिष्ठ नेताको प्रस्ताव राख्न महामन्त्री प्रदीप पौडेललाई पठाएका थिए। विशालनगर पुगेर पौडेलले कोइरालालाई भने, ‘दाइ, वरिष्ठ नेता बनिदिनुपर्‍यो।’

“तर, मैले गगनलाई नै पठाऊ भनिदिएँ,” कोइराला नेपालन्युजसँग भन्छन्, “यसपछि २२ वैशाखमा गगन मसँग भेट्न आएका हुन्।” २२ वैशाखमा विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेट्न पुगेका थापाले वरिष्ठ नेता र सदस्यता अद्यावधिकको प्रस्ताव एकैपटक राखे। कोइराला भन्छन्, “मैले वरिष्ठ नेता बन्ने चाहना छैन, अद्यावधिक गरे पार्टीमा रहन्नँ भनिदिएँ।”

कोइरालाको सिधा तर आवेगपूर्ण अभिव्यक्तिको सामना गरेपछि गगनले थुमथुम्याउने प्रयास गरे। “उनले हैन दाइ, तपाईंले त्यसो गर्न मिल्दैन, मिलौँ भनेपछि मैले गगनसँग सल्लाह गरेरै पाँचबुँदे एकता प्रस्ताव तयार पारेको हुँ,” कोइराला भन्छन्।

उक्त प्रस्तावमा छलफल गरेर तीन दिनभित्र जानकारी दिन्छु भन्दै थापा विशालनगरबाट निस्किएका थिए। “त्यसपछि सभापति अहिलेसम्म सम्पर्कमा आएका छैनन्,” कोइराला भन्छन्, “यतिका दिनसम्म कुरा नगरेकाले मैले आफैँ पाँचबुँदे सार्वजनिक गरिदिएको हुँ।”

सभापति थापाले सहमतिबिनै सदस्यता अद्यावधिक थालेपछि अहिले कोइराला र देउवा समूह चिढिएका छन्। थापाले धोका दिएको महसुस गरेका कोइरालाले सोमबार साँझ पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक गर्नु त्यसैको परिणाम थियो।

कोइरालाको अडान

कोइरालाले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वलाई स्विकारेका छन्। तर, अद्यावधिकतिर जान चाहँदैनन्। उनी भन्छन्, “५४ प्रतिशतले विशेष महाधिवेशन गरेको हो, पार्टीमा अरू मतलाई समेट्नुपर्छ, ५४ प्रतिशत मात्रै कांग्रेस होइन, त्यसकारण मैले एकताबद्ध भएर १५औँ महाधिवेशनमा जानका लागि अद्यावधिकलाई अनिवार्य सर्त नबनाऔँ भनेको हुँ।” नयाँ सदस्यता वितरण र नवीकरणमा कोइरालाको आपत्ति छैन।

कोइरालासँग पाँचबुँदे सहमति गरेर निस्केलगत्तै थापाले सदस्यता अद्यावधिक थालिहाले। थापाले १ जेठमा महामन्त्री पौडेलको संयोजक रहेको सदस्यता व्यवस्थापन समिति सक्रिय बनाए। २१ जेठसम्म नवीकरण, नयाँ सदस्यता वितरण र अद्यावधिक सक्न पार्टीपंक्तिमा परिपत्र जारी गराए।

त्यसैअनुसार २ जेठदेखि सदस्यता अद्यावधिक सुरु भएको छ। जसमा, निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्कासमेतको असहमति छ। अहिलेसम्म एक लाख क्रियाशील सदस्य अद्यावधिकमा सामेल भइसकेको कांग्रेस मुख्यसचिव कृष्ण दुलालको दाबी छ। खड्का-कोइराला दुवै पक्ष अद्यावधिकमा सहभागी छैनन्। “अद्यावधिक म गर्दिनँ, बरु मलाई पार्टीबाट निकालिदिए हुन्छ,” कोइराला भन्छन्।

१४औँ महाधिवेशनमा कांग्रेसमा आठ लाख क्रियाशील सदस्य थिए। विशेष महाधिवेशनको अघिल्लो दिनसम्म पाँच लाखले सदस्यता नवीकरण गरेको दुलाल बताउँछन्। १५औँ महाधिवेशनका लागि तयार भएको यो नवीकरण संख्यालाई अद्यावधिकको अनिवार्य सर्त बनाउन नहुनेमा कोइराला अडिग छन्। देउवा समूहले समेत सोही अडान राखेको छ।

तर, विशेष महाधिवेशन पक्षधरले अद्यावधिकलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। विशेष महाधिवेशनले कांग्रेसको विधान नै संशोधन गरिसकेको छ। संशोधित विधानको उक्त विधानको धारा ४ को उपधारा १४ मा विशेष महाधिवेशनसम्म कायम रहेका क्रियाशील सदस्यले विशेष महाधिवेशनपछि अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्ने प्रावधान छ। त्यसको मापदण्ड केन्द्रीय कार्यसमितिले तोकेको हुनुपर्ने छ।

दुलालका अनुसार सोही विधानलाई टेकेर सदस्यता वितरण तथा अद्यावधिक निर्देशिका, २०८२ जारी गरिएको हो। “जसले विधानलाई मान्छ, उसले अद्यावधिक गर्छ, जसले मान्दैन उसको अद्यावधिक रहँदैन,” दुलाल भन्छन्, “अद्यावधिक नगर्ने क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि चुन्न पाउँदैन।” क्रियाशील सदस्यता अद्यावधिक नगर्ने सदस्यलाई पार्टीको सदस्य रहन दिने वा नदिने अधिकार केन्द्रीय कार्यसमितिलाई छ।

अद्यावधिक नगरी १५औँ  महाधिवेशनमा जान थापा पक्ष तयार छैन। थापा पक्षले जति अद्यावधिकमा समावेश हुन्छन्, त्यसैका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने रणनीति बनाएको छ। “विशेष महाधिवेशनलाई स्वीकार गरेपछि विधान र निर्वाचित समितिले गरेको निर्णय मान्नुपर्छ,” महामन्त्री पौडेल भन्छन्, “सदस्यता अद्यावधिक, वितरण र नवीकरण जारी रहन्छ।”

कोइराला र देउवा दुवै पक्षले नयाँ सदस्यता वितरण र नवीकरण नरोके पनि अद्यावधिकमा सामेल नहुँदा कांग्रेसको आन्तरिक कलह उत्कर्षमा पुगेको छ।

पार्टी फुट्न सक्छ, स्वतन्त्र रहन्छु : कोइराला

कांग्रेसभित्रको क्रियाशील सदस्यता अद्यावधिक विवाद पार्टी विभाजनसम्म पुग्न सक्ने संकेत कोइरालाले दिएका छन्। त्यसैले विवाद तुरुन्तै मिलाउनुपर्ने र त्यसका लागि सभापति थापाको पहल निर्णायक बन्ने कोइराला बताउँछन्। भन्छन्, “म आफू दिनहुँ पार्टी एकताका लागि प्रयासरत छु, सभापतिले पार्टीको संवेदनशीलता बुझ्नुभएको छ कि छैन, म जान्दिनँ।”

देउवा समूहले पार्टी विभाजन गर्न सक्नेतिर कोइरालाले संकेत गरेका हुन्। देउवा समूहका केही नेता नयाँ पार्टी गठनको अजेन्डामा छलफल गरिरहेका छन्। नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले त्यसको नेतृत्व गरिरहेका छन्। नयाँ बन्ने पार्टीको तीनमध्ये एक नेताले नेतृत्व गर्ने चर्चा कांग्रेस वृत्तमा चलिरहँदा यसबारे तीनै जना नेताले भने प्रतिक्रिया दिएनन्। निधिका आफन्तको मृत्युको शोकमा सहभागी बन्न सिटौला र सिंह बिहीबार धनुषा पुगेका छन्। देउवानिकट नेता प्रकाशशरण महत भन्छन्, “नयाँ पार्टी गठन हुन लागेको कुरा मैले पनि मिडियामा सुनिरहेको छु। कसले प्रचार गरिरहेको छ, थाहा छैन। हाम्रो कुरा चाहिँ पार्टी एकता होस्, १५औँ महाधिवेशन निष्पक्ष होस् भन्ने हो।”

१५औँ महाधिवेशन गर्न साझा सहमतिको संयन्त्र निर्माण गर्नुपर्ने महत बताउँछन्। “त्यस्तो संयन्त्रले मात्रै निष्पक्ष तरिकाले महाधिवेशनको सुनिश्चितता गर्न सक्छ, हाम्रो माग त्यही छ,” महत भन्छन्।

पार्टी फुटेको खण्डमा कोइराला भने स्वतन्त्र बस्ने मनस्थितिमा छन्। “म कतै पनि रहन्नँ, स्वतन्त्र रहन्छु। गणेशमानजी, किशुनजीले त पार्टी छोडेर बस्नुभयो भने म स्वतन्त्र बस्न सक्दिनँ र?” पार्टी फुटे त्यसको दोष अहिलेका सभापतिलाई नै जाने भएकाले उनैले एकताको कदम चाल्नुपर्नेमा कोइरालाको जोड छ।