राजनीति
कांग्रेस एकताका लागि शेखर कोइरालाले राखेको पाँचबुँदे प्रस्ताव अलपत्र
नेपाली कांग्रेसमा मध्यमार्गी नेता मानिने डा. शेखर कोइरालाले पार्टी एकताका लागि भन्दै सोमबार साँझ पाँचबुँदे प्रस्ताव सार्वजनिक गरे। प्रस्तावमा कांग्रेसको सदस्यता विवाद तत्काललाई रोक्ने उद्देश्य केन्द्रमा राखिएको छ।
क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगरी १४औँ महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव कोइरालाको पाँच बुँदामा समेटिएको छ। त्यस्तै, १४औँ महाधिवेशन र विशेष महाधिवेशन दुवैको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने प्रस्ताव उनको छ। सभापति पक्षधरको बहुमत हुने गरी कार्यसम्पादन समिति बनाए पनि निर्वाचन, क्रियाशील सदस्यता छानबिन, अनुशासन, विधान र अन्य समिति आपसी सहमतिबाट बनाउनुपर्ने प्रस्ताव कोइरालाले गरेका छन्।
उनले पाँचबुँदे प्रस्ताव २२ वैशाखमै सभापति गगन थापालाई बुझाएका थिए। थापालाई बालुवाटारस्थित सम्पर्क कार्यालयमा भेट्दा पाँचबुँदे प्रस्ताव दिइएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया बताउँछन्। उनका अनुसार पार्टी एकता बलियो बनाएर १५औँ महाधिवेशनमा जाने कडीका रूपमा आफूले पाँचबुँदे प्रस्ताव राखेको कोइरालाले सभापति थापालाई बताएका थिए। थापाले त्यतिबेला ‘हुन्छ’ भनेको थपलियाको दाबी छ।
तर, त्यसयता गगन-शेखरबीच संवाद भएको छैन। “सभापतिले पाँच बुँदा लिनुभयो, त्यसपछि सम्पर्क गर्नुभएको छैन,” कोइरालालाई उद्धृत गर्दै थपलिया भन्छन्, “सरसल्लाह गर्छु भन्नुभएको थियो, त्यसपछि सभापति बेपत्ता हुनुहुन्छ।”
तीन सातासम्म थापाले सम्पर्क नगरेपछि कोइरालाले बाध्य भएर पाँचबुँदे प्रस्ताव मिडियामार्फत सार्वजनिक गरेको थपलिया दाबी छ। उनी भन्छन्, “सभापतिले लामो समय के गर्नुभयो थाहा भएन, सम्पर्क पनि गर्नुभएन। मिडियामा विभिन्न कुराहरू आउन थालेपछि कोइरालाले पाँच बुँदा सार्वजनिक गर्नुभएको हो।”
उनका अनुसार सदस्यता वितरण र नवीकरण विवादको मुख्य विषय रहँदै आएको कांग्रेसमा क्रियाशील सदस्यता तत्काल अद्यावधिक अनिवार्य नगरी १४औँ महाधिवेशनकै सदस्यताका आधारमा अगाडि बढ्दा विवाद रोकिने कोइरालाको विश्वास छ। कांग्रेसले २१ जेठमा क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक कार्य अनिवार्य सम्पन्न गर्न देशव्यापी निर्देशन दिइसकेको छ। पूर्वसभापति देउवा समूहले बहिष्कार गरे पनि उक्त कार्य पूर्ण रूपमा रोकिएका छैनन्।
१४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट दोहोरो संरचनालाई समायोजन गर्दा पार्टीभित्र बनिरहेको ‘दुई केन्द्र’ भंग हुने कोइरालाको दाबी छ। कार्यसम्पादन समितिमा सभापतिको बहुमत रहने व्यवस्था स्वीकार गरे पनि विभिन्न संवेदनशील समिति सहमतिमा गठन गर्नुपर्ने प्रस्ताव राखेर कोइराला एकल नियन्त्रण रोक्ने प्रयासमा लागेको देखिन्छ।
पाँच बुँदामार्फत नै एकता खोजिनुपर्ने अडान राख्दै उनले तत्कालै अन्य कुनै प्रस्ताव नल्याउने बताएका छन्। देउवा समूहलाई समेत विश्वासमा लिएर सहमतिमा नेतृत्व अघि बढ्नुपर्ने बेला सभापतिले छलफल गर्न नचाहँदा पार्टी एकताबारे संशय बढेको कोइरालाको बुझाइ छ।
विधानबाहिर नजाने गगनको अडान
सभापति थापा भने कोइरालाको पाँचबुँदे प्रस्ताव कार्यान्वयन हुन नसक्ने भन्दै छलफल गर्न अनिच्छुक देखिएका छन्। विशेषत: १४औँ महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमिति समायोजन गर्ने विषयमा थापाको विमति छ।
कांग्रेसको पुरानो विधानमा रहेको १६८ जनाको केन्द्रीय कार्यसमिति हुने व्यवस्था विशेष महाधिवेशनले संशोधन गरेको थियो। जसमा १३४ निर्वाचित र ६१ मनोनीत गरी १९५ जनाको केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। १४औँ महाधिवेशनको कार्यसमिति मिलाउँदा विधानभन्दा बाहिर जानुपर्ने अवस्था आउने थापाको तर्क छ। “विधान र संविधान मान्ने पार्टीले तीन-चार सय जनाको केन्द्रीय कार्यसमिति बनाएर जान सक्ने अवस्था हुँदैन,” कांग्रेस प्रवक्ता देवराज चालिसे भन्छन्, “विधानभित्र बसेर समाधान गर्ने हो, यसमा सबै पक्ष लचिलो हुनुपर्छ।” तर, कोइराला चाहिँ विधानभन्दा पार्टीको समग्र एकता जरुरी रहेको भन्दै समायोजनको अडानमा छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेल भने पाँच बुँदाको आधिकारिकताबारे नै आफू जानकार नभएको बताउँछन्। “उहाँले सार्वजनिक गरेपछि थाहा भएको हो, आधिकारिक रूपमा सभापतिलाई दिनुभएको थाहा छैन,” पौडेल भन्छन्, “देउवा समूहलाई पनि मिलाएर अघि बढ्ने उहाँको बटमलाइन होला। एउटा पक्षलाई मिलाउँदा सबै पक्ष मिल्छ भन्ने छैन। उहाँहरूले संयुक्त रूपमा प्रस्ताव लिएर आउनुभएको पनि छैन।”
दुवै पक्षले विशेष महाधिवेशनलाई स्वीकार गरिसकेकाले विधिसम्मत गठन भएका समितिलाई मान्नुपर्ने पौडेलको तर्क छ। “कार्यकारी अधिकारसहितको निर्वाचित समितिलाई हटाएर अर्को समिति बनाउने कुरा विधानसम्मत हुँदैन, विशेष महाधिवेशन मानिसकेपछि त्यसले चुनेको समिति पनि मान्नुपर्छ,” पौडेल भन्छन्, “जहाँसम्म सबैलाई समेट्ने भन्ने कुरा छ, विधानको अधीनमा रहेर व्यावहारिक रूपमा समेट्न नसकिने कुरा छैन।”
कोइरालाको सर्त
विशेष महाधिवेशनपछि विभाजित जस्तै अवस्थामा रहेको कांग्रेस एकताका लागि भन्दै महामन्त्री पौडेल २२ चैतमा कोइरालासँग भेट्न बालुवाटार पुगेका थिए। त्यहाँ उनले कोइरालालाई वरिष्ठ नेता बन्न प्रस्ताव गरेका थिए। २२ वैशाखमा गगनले पनि कोइरालालाई त्यही प्रस्ताव दोहोर्याए। त्यसबेला आफूले वरिष्ठ नेता खोजेको नभई पार्टी एकतामा जोड दिनुपर्ने बताएको कोइरालाको दाबी छ।
तर, नेतृत्वले भागबन्डाबारे अस्वाभाविक प्रचारबाजी गरिरहेको उनको गुनासो छ। उनी भन्छन्, “बाहिर ६०/४० भागबन्डाको हल्ला फिँजाइएको छ, हामीलाई कुनै भागबन्डा चाहिएको छैन, पार्टी एकताको कुरा गरिराखेको छु मैले।”
कांग्रेस प्रवक्ता चालिसे भने पार्टी आन्तरिक विवादमा अल्झिन नहुनेमा जोड दिन्छन्। भन्छन्, “नेतृत्वले वरिष्ठ नेता दिने प्रस्ताव गरेको होला। नेतालाई विश्वास गर्नु राजनीतिक कुरा नै हो। तर, पहिले विश्वासको वितावरण बन्नुपर्छ। एकताबद्ध भएर १५औँ महाधिवेशन गर्नु र सुदृढ भएर निर्वाचनमा बढीभन्दा बढी मत हासिल गर्नु प्रमुख कुरा हो। पार्टी कमजोर भएको बेला आन्तरिक विवादमा शक्ति खर्च गर्नु सही होइन।”
सभापति थापा आगामी असोजभित्रै १५औँ महाधिवेशन गर्ने तयारीमा छन्। उनले कोइराला-देउवा दुवै समूहलाई सहमतिमा ल्याउन भन्दै २८ वैशाखमा केन्द्रीय समितिमा सदस्यहरू मनोनीत गरे। १९ जना केन्द्रीय समिति सदस्य थप्दा ११ जना देउवा पक्षका र आठ जना कोइराला पक्षका छन्। आफूलाई नसोधी मनोनीत गरेको भन्दै कोइरालाका साथै देउवा समूहले असन्तुष्टि व्यक्त गरेका छन्।