काठमाडौँ। प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङबारे भ्रामक समाचार छापिएको बताएको छ। प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गरी खापुङबारे पत्रपत्रिका र सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार भ्रामक भएको भन्दै खण्डन गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भन्ने आशयका समाचार भ्रामक रहेकोले प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको घिमिरेले जनाएका छन्।
“प्रहरी महानिरीक्षकज्यूले कहीँकतै त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री, गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रम वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको विश्लेषण भएको हो,” विज्ञप्तिमा भनिएको छ, “शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।”
केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा खापुङले ओली-लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने चेतावनी दिएको आशयका समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएका थिए।