काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

शैली

राजधानीवासीका लागि भेटघाटका लागि नयाँ, शान्त र प्रिय गन्तव्य बन्दै छ– भैँसेपाटी

२५ आश्विन २०८२
भैँसेपाटीको साँझको दृश्य। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

दोलखाका तिलक केसीले भैँसेपाटी आवास क्षेत्रमा रेस्टुराँ सुरु गर्ने बेला स्थानीयवासी भन्थे– यस्तो जंगलजस्तो ठाउँमा को खान आउला र?

यो १५ वर्षअघिको कुरा हो।

अहिले केसीले सञ्चालन गरेको ‘तिरुपति क्याफे एन्ड रेस्टुराँ’ यस क्षेत्रकै चल्तीको रेस्टुराँ बनेको छ।

एक दशकअघिसम्म सुनसान यस ठाउँमा तीनचार वर्षयता हरेक साँझ झिलिमिली बत्ती बल्छ, मान्छेहरूको चहलपहलले मध्यरातसम्म भैँसेपाटी जागै बस्छ।

गत वर्ष पुल्चोकबाट मन्त्रीक्वार्टर भैँसेपाटी सैबु आवास क्षेत्रमा सरेपछि यो ठाउँको राजनीतिक महत्त्वसमेत बढेको छ।

रात्रिकालीन भैँसेपाटीको माहोल अवलोकन गर्न असोजको एक शुक्रबार साँझ ६ बजेतिर हामी त्यहाँ पुगेका थियौँ। पारि चन्द्रागिरि डाँडामुनि ओर्लिंदै गरेको घामको प्रकाश मधुरो भइसकेको थियो। आवास परिसरका क्याफे, रेस्टुराँ, मलदेखि सडकपेटीका बत्तीहरू भने चहकिला देखिँदै थिए।

साँझ छिप्पिँदै जाँदा दिउँसो सादा देखिने भवन र क्याफेका नाम रंगीन अक्षरमा चम्किन थाले, भैँसेपाटी कम्प्लेक्स, सोबेल, काठमाडौँ कफी, गुड मिक्सर, क्याफेओफिलिया, सेल्सबेरी, स्माइल मार्ट, गोल्ड्स जिम आदि। यी नामले यहाँको सम्भ्रान्त जीवनशैलीको छनक दिइरहेको थियो।

आवास क्षेत्रबाहिरको चर्को कोलाहल गेटबाहिर छुटेसँगै भित्री भागमा संगीतको मिठासले सबैलाई तानिरहेको देखिन्थ्यो। धूवाँ-धूलोको ठाउँ कफीको बाफ-बास्नाले लिएको थियो। पारि चोभार, चम्पादेवी र टौदहको पानीमा ठोक्किँदै आउने चिसो हावाले भित्रिँदै गरेको चिसो यामको आभास दिँदै थियो। यहाँ मान्छेहरू चलायमान देखिन्थे, तर त्यो हतारविहीन चाल थियो। यस्तो लाग्दै थियो, जिन्दगीको अर्को नाम ‘भागदौड’ मात्र होइन, ‘विश्राम’ पनि हो। होहल्ला र हतारविनाको भिडमा मान्छेहरूको उपस्थिति बढिरहेको थियो, तैपनि अनौठो शान्ति महसुस हुन्थ्यो।

दोलखाका तिलक केसीले सञ्चालन गरेको तिरुपति रेस्टुराँ। तस्बिर : बिक्रम राई/नेपालन्युज

भवनको बीचमा दायाँबायाँ ढुंगाले छापेको खुला ठाउँ छ, जहाँ मानिस चिया र कफीको चुस्कीसँगै पानीपुरीलगायत खानेकुरा खाएर थकाइ मारिरहेका थिए। कोही गफिन आएजस्तो मात्र देखिन्थे। साना केटाकेटीलाई निर्बाध छोडेर तिनका अभिभावक निर्धक्क हिँडिरहेका थिए, यही भिडमा विदेशी अनुहार पनि मिसिए।

मान्छेसँगै उनीहरूका गाडी र मोटरसाइकलले पनि दिनभरिको थकाइ मेटिरहेजस्तो लाग्ने। ठमेल, न्युरोड र दरबारमार्गजस्ता मुख्य सहर पुग्दा पार्किङ कहाँ गर्ने भन्ने धेरैको चिन्ता हुन्छ। तर भैँसेपाटीमा निस्फिक्री-निःशुल्क पार्किङ पाइन्छ। आवास क्षेत्रभित्र प्रवेश गरेपछि छोटो दुरीमा थरीथरीका कफी सप देख्दा यो थलो कफी हब बनिसकेको आभास हुन्छ। तीमध्ये सेतो र सफा चारतले भवनको तल्लो दुई तलामा अवस्थित ‘क्याफेओफिलिआ’ विशेष लोकप्रिय रहेछ। बिहान ६ः३० देखि राति १० बजेसम्म आउने कफी अम्मलीबीच नेपाली कफीको विशेष माग छ।

यहाँ पाइने नेपाली कफीका मौलिक र थरीथरीका स्वादले पारखीलाई आकर्षित गरेको छ। म्यानेजर शेखर खड्का स्याङ्जा, गोरखा, नुवाकोट, कास्की आदि ठाउँबाट कफी ल्याई फरक विधिबाट रोस्टिङ र ब्रुइङ गरेर बिक्री गरिएको बताउँछन्। कफीमध्ये पनि फिल्टर ‘पोर ओभर कफी’ सबैभन्दा बढी चलेको छ। कफीसँगै चिया, खाजा र खाना खान आउने ग्राहक पनि प्रशस्तै देखिन्छन्।

भैँसेपाटीस्थित क्याफेओफिलिया। तस्बिर : बिक्रम राई/नेपालन्युज

गत वर्ष पुलचोकबाट मन्त्रीक्वार्टर भैँसेपाटी सैबु आवास क्षेत्रमा सरेपछि यो ठाउँको राजनीतिक महत्त्वसमेत बढेको छ। आवास क्षेत्रमा गभर्नर, अर्थमन्त्री, मुख्यमन्त्री, सभामुखलगायतको बास छ। राजदूत, एनजीओ, आईएनजीओका स्वदेशी–विदेशी भीआइपीहरू यहीँ बस्छन्। यो सूचीमा ठूला उद्योगपतिदेखि पत्रकार, कलाकार, संगीतकारसमेत पर्छन्। खड्का भन्छन्, “उहाँहरू सबै हाम्रो ग्राहक हुनुहुन्छ।”

सप्ताहान्तमा आवास क्षेत्रको मुखैमा रहेको झिरको सेकुवादेखि पुछारको नेवाः किचनसम्म ग्राहकको बाक्लो उपस्थिति देखियो।

काठमाडौँभरिका चल्तीका ब्रान्ड र खानाको स्वाद यहीँ पाइनुको कारण यिनै भीआईपी हुन् भनी सजिलै अड्कल काट्न सकिन्छ। यो ठाउँमा हिँड्दाहिँड्दै तपाईंलाई मन पर्ने कलाकार वा संगीतकार भेट्नुभयो भने आश्चर्य नमान्दा हुन्छ।अभिनेता शिव श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, गायक लोचन रिजाल, पत्रकार भूषण दाहाललगायत धेरै सेलिब्रेटी यहाँ खानपिनमा रमाइरहेको भेटिन्छ।

मेनेजर खड्का भन्छन्, “टीभी र फिल्ममा देखेका अधिकांश अनुहार भेट्नुपरे भैँसेपाटी आए हुन्छ।”

भैँसेपाटी आवास क्षेत्र प्रवेशद्वार। तस्बिर : बिक्रम राई/नेपालन्युज

सेलिब्रेटी ग्राहक बनेर आउँदा यहाँका सञ्चालकहरूमा पनि सन्तुष्टि मिल्ने रहेछ। तिरुपतिका सञ्चालक केसीको भन्छन्, “साम्राज्ञीराज्यलक्ष्मी राणा, राजु लामाजस्ता कलाकार हाम्रा ग्राहक हुनुहुन्छ। उहाँहरूले घरमै आएर खाएजस्तो लाग्यो भन्दा धेरै खुसी लाग्छ।”

यहीँ आसपास काठमाडौँ कफी, हिमालयन जाभाजस्ता ठाउँसमेत कफी पारखीहरूका लागि लोकप्रिय छन्।

कफीजस्तै यहाँ पाइने थरीथरीका खानाको स्वादले ग्राहकहरूलाई तानिरहेको देखिन्छ। मुख्य सहरभन्दा अलिकति टाढाको यो आधुनिक ठाउँमा पैदल यात्रुका लागि हिँडडुल गर्न फराकिलो ठाउँ छ। परिवारसँग आउँदा खानेकुरा छानीछानी खाने विकल्प पनि छ; कहिले जापानी वा कोरियाली, कहिले नेवारी वा थकाली।

सप्ताहान्तमा आवास क्षेत्रको मुखैमा रहेको झिरको सेकुवादेखि पुछारको नेवाः किचनसम्म ग्राहकको बाक्लो उपस्थिति देखियो। शुक्रबार र शनिबार नेपाली खाना/थकाली खाना भन्दै स्थानीयहरू सपरिवार आउनाले ग्राहकको चाप बढ्ने होटल सञ्चालकहरू बताउँछन्।

भैँसेपाटीस्थित काठमाडौँ कफी सप। तस्बिर : बिक्रम राई/नेपालन्युज

तिरुपतिका सञ्चालक केसी आफ्नो रेस्टुराँमा २०० भन्दा बढी परिकार भएको सगौरव सुनाउँछन्। खाना, नान, तन्दुरी, मट्का चिया, चटपटेदेखि पानीपुरीसम्म उनको रेस्टुराँमा पाइन्छ। आफ्नो रेस्टुराँमा बन्ने खानाको विशेषता सुनाइरहँदा हामीले सोधेका थियौँ, “यहाँको सबैभन्दा चल्ने र मीठो खानेकुरा के हो?”

रातो क्याप मिलाउँदै भने, “चिकेन लेमन जिरा र झानेको मम। जुन आगो बल्दाबल्दै ग्राहकको टेबलमा आइपुग्छ।”

यहाँ सात वर्ष पुरानो रुफटप रेस्टुराँ ‘स्काई पार्क’ पनि छ, जहाँ साल्मोन र टाइगर प्राउनजस्ता सी फुड पाइन्छन्। कर्मचारी सुमन राई आफ्नो रेस्टुराँको स्मोक पिकल चिकेन ग्राहकले धेरै मन पराउने बताउँछन्।

साँझपख सधैँ चहलपहल हुने आवास क्षेत्रमा शुक्रबार र शनिबारको रौनक बढ्ने नै भयो। स्काई पार्क र गुड मिक्सर बार लाइभ संगीतका कारण पनि यहाँका चर्चित गन्तव्यमा पर्छन्। शुक्रबारबाहेक नेपाली नयाँ वर्ष, क्रिसमस, अंग्रेजी न्यु इयर इभजस्ता उत्सवमा यहाँ संगीतको तालमा रमाउँदै मनाइन्छ। कसैको जन्मदिन विशेषमा पनि बुकिङ गरेर गाना–बजानाको माहोल जम्छ।

भैँसेपाटीमा साँझको चहलपहल। तस्बिर : बिक्रम राई/नेपालन्युज

गुड मिक्सरका सञ्चालकमध्येका गजेन्द्र बोहोरा शुक्रबार बेलुका ७ देखि १० बजेसम्म लाइभ संगीत हुने बताउँछन्। अरू दिनभन्दा शुक्रबार एकदुई घन्टा ढिलोसम्म चहलपहल हुन्छ। यस्तो माहोलमा कहिले नेपथ्यका गायक अमृत गुरुङ, कहिले अभिनेत्री प्रियंका कार्की त कहिले अभिनेता अनुपविक्रम शाही, हास्यकलाकार सन्दीप क्षेत्रीलाई देख्न-भेट्न पाइने यहाँका बारिस्टा अभिषेक उत्साहित हुँदै सुनाउँछन्।

ठूला ब्रान्डेड रेस्टुराँका बीचमा एउटा लोकल खालको खाने ठाउँ पनि छ। टिकटक फुड एक्सप्रेस नामको यस ठाउँमा ग्राहकहरू रोसा ब्रान्डको नीलो बसभित्र बसेर छोयला, सेकुवा, माछा, थुक्पालगायत खाजा सेटहरू मगाउँछन्।

कुनैबेला ठमेल, नयाँ सडक, दरबारमार्गले जसरी ललितपुरका मान्छेको आतिथ्य गर्थे, त्यसरी नै हिजोआज भैँसेपाटीले काठमाडौँलाई बोलाउन थालेको छ।

आवास क्षेत्र खानपिनको रमाइलोमा मात्र सीमित छैन। आधारभूत सेवासुविधाका हरेक कुरा एकै थलोमा पाइनु यहाँको विशेषता हो। मार्ट, सपिङ मल, बैंक, एटीएम, सलुन, फिटनेस सेन्टर, मार्ट, औषधि पसललगायत केही पाइलाको दुरीमा भेटिन्छन्।

यहाँ स्वास्थ्यप्रति संवेदनशीलता पनि देखिन्छ। गोल्ड्स जिम होस् वा बज्र ननिताज फिटनेस, मानिसहरू राति १० बजेसम्म व्यायाम गरिरहेका हुन्छन्। क्याफे रेस्टुराँजस्तै सैलुन र फिटनेस सेन्टरमा पनि मान्छेको बाक्लै उपस्थिति देखिन्छ।

भैँसेपाटी कम्प्लेक्सको दुई तला ओगटेको गोल्ड्स जिममा वेट लिफ्टिङ, जुम्बा, योग, स्पा, सौनालगायत सुविधा छ। जिमकी कर्मचारी जस्मिन गुरुङ जिम सेन्टर धाउनेहरूको संख्या २०० हाराहारीमा रहेको बताउँछिन्। यहाँ टिनएजर र ३० देखि ४० वर्ष उमेर समूहका महिला–पुरुषको संख्या बढी छ। उनीहरू अफिस जानुअघि वा अफिसबाट फर्केर बिहान र बेलुका जिमघरमा पुग्ने गर्छन्।

भैँसेपाटी क्षेत्रमा रहेको जिमखाना। तस्बिर : बिक्रम राई/नेपालन्युज

यहाँका संरचना आवास क्षेत्रकै बासिन्दाका लागि लक्षित छन् र मुख्य रूपमा उनीहरूले नै धानेको भन्दा गलत अर्थ लाग्दैन। आवासबाहिरका मानिसका लागि पनि यो क्षेत्र सबैका लागि खुला छ। कुनैबेला ठमेल, नयाँ सडक, दरबारमार्गले जसरी ललितपुरका मान्छेको आतिथ्य गर्थे, त्यसरी नै हिजोआज भैँसेपाटीले काठमाडौँलाई बोलाउन थालेको छ। हामी पनि भैँसेपाटीको आतिथ्य स्वीकार गर्दै त्यहाँ पुगेका थियौँ।

शुक्रबार साँझ भैँसेपाटी घुमेपछि लाग्यो, रिङरोडबाट करिब दुई किलोमिटर परको भैँसेपाटी सहरबाहिरको ‘नयाँ सहर’ हो।