बातचित
पार्टीको असफलता, कमजोर स्थिति र संगठनको ध्वस्त अवस्था हेर्दा व्यापक सुधार अपरिहार्य छ।
जेन-जी विद्रोहपछि सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग चुलिएको छ। दुई महिनाभित्र नियमित महाधिवेशन गरेर नभए विशेष महाधिवेशनमार्फत सभापति शेरबहादुर देउवासहित वर्तमान सिंगो कार्यसमितिलाई बिदा गर्नुपर्ने बहस कांग्रेसमा छ। यसका लागि विशेष महाधिवेशन बोलाउन भन्दै हस्ताक्षर अभियान सञ्चालन हुँदा ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। अर्कातर्फ नियमित महाधिवेशन गर्नुपर्छ भन्दै जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल पनि भइरहेको छ।
यसैबीच २८ असोजबाट कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बैठकअगावै विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर अभियान बुझाउने निर्णयमा कांग्रेस नेतृत्व पुगेको छ। यही विषयको सेरोफेरोमा रहेर हस्ताक्षर अभियानको नेतृत्वकर्तामध्येका गुरु घिमिरेसँग नेपालन्युजका रोमन आचार्यले गरेको संवादको सम्पादित अंश :
नेतृत्व परिवर्तनका लागि तपाईंहरूले चलाएको हस्ताक्षर अभियान कहाँ पुग्यो?
जिल्ला जिल्लाबाट मात्र होइन, विदेशबाट पनि सहभागीहरूले हस्ताक्षर अभियानमा सहभागिता जनाउनुभएको छ। कतै सहभागी प्रतिशत अलि बढी छ भने कतै कम छ। समग्रमा भोलिसम्म हामी करिब ५१ प्रतिशतको हस्ताक्षर पुर्याउनेछौँ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पोट्रेटअगाडि नेपाली कांग्रेसका नेता गुरु घिमिरे। तस्बिर : बिक्रम राई/नेपालन्युज
संकलित हस्ताक्षरलाई कहिले बुझाउनुहुन्छ?
केन्द्रीय समितिको बैठक हुनुअघि नै संकलित हस्ताक्षर बुझाउँछौँ। भोलि नै समय लिएर जान्छौँ र केन्द्रीय कार्यालयमा दर्ता गराउँछौँ। केन्द्रीय समितिले नियमित महाधिवेशन वा अरू के निर्णय गर्छ भनेर हामी प्रतीक्षा गर्दैनौँ। किनभने, हालको केन्द्रीय समितिको अवस्था र विगत चार वर्षको कार्यशैली हेर्दा हामीलाई कुनै विश्वास छैन।
कार्यसम्पादन समितिमा महामन्त्रीहरू मात्र होइन, संस्थापन पक्षका नेताहरू पनि नियमित महाधिवेशनमा जानुपर्छ भनिरहेका छन्। तपाईंहरू चाहिँ किन विशेष महाधिवेशन मागिरहनुभएको?
नियमित महाधिवेशनको सुनिश्चितता देखिँदैन। अहिले पनि छलछाम भइरहेको छ। यति ठूलो संख्यामा पार्टीका सदस्यहरूले यो अभियान किन सुरु गरे? उद्देश्य के हो भन्ने विषयमा उहाँहरूले छलफल गर्ने इच्छा नै देखाउनुभएन। देशमा यसखाले विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा हामीले गर्नुपर्ने प्रक्रिया नै विशेष महाधिवेशन हो। त्यसैका लागि यो प्रावधान राखिएको हो।
विशेष महाधिवेशन भनेर तपाईंहरूले पार्टीलाई विभाजन गर्न खोजिरहनुभएको आरोप पनि लागिरहेको छ नि?
अहिले विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर अभियान चलाउनेहरूलाई पार्टीमा आगो सल्काउने, विभाजित गर्ने आरोप लगाउन थालिएको छ। बीपी कोइरालाले २०३४ सालमा अमेरिकाबाट उपचार गराएर फर्किएपछि पटनामा विशेष अधिवेशन बोलाएर कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभएको थियो। इतिहासमा यसको अभ्यास भइसकेको छ। विशेष महाधिवेशन भनेको पार्टीलाई संकटबाट जोगाएर अघि बढाउने एउटा उपाय हो, विकल्प हो।

नेपाली कांग्रेसका नेता गुरु घिमिरे। तस्बिर : बिक्रम राई/नेपालन्युज
नियमित महाधिवेशन हुनेमा तपाईंहरूको आशंका किन हो?
हामीले निरन्तर भनिरहेका थियौँ कि नियमित महाधिवेशन समयमै गरियोस् भनेर। पार्टी सरकारमा थियो। हाम्रा केही साथीहरू सरकारमा थिए। पार्टीको आन्तरिक काम रोक्ने कुनै कारण थिएन। शान्ति, सुव्यवस्था र मुलुकको दैनिकी सामान्य अवस्थामा थियो। हामीले सजिलै पार्टीका काम गर्न सक्थ्यौँ। तर क्रियाशील सदस्यता वितरण र पुनर्नवीकरणका कामहरू महिनौँसम्म अघि बढ्न सकेनन्। हामीले सर्कुलर जारी गर्यौँ, त्यसले पनि परिणाम ल्याउन सकेन। त्यसैले पार्टीको नियमित अधिवेशन समयसीमाभित्रै हुने संकेत देखिएन। विधानमा भएको विशेष प्रावधान र संवैधानिक अवधि प्रयोग गरेर अधिवेशन साढे पाँच वर्षसम्म टार्ने, पछाडि धकेल्ने प्रयास भयो।
अब त मुलुकमा संकटपूर्ण स्थिति उत्पन्न भएको छ। जेन-जी आन्दोलनका कारण सरकार परिवर्तन भइसकेको छ।
अहिलेसम्म पनि केन्द्रीय समितिको बैठक बसेको छैन। २६ गते हुने भनिएको बैठक २८ गते सारिएको छ र फेरि सर्ने चर्चा पनि सुन्न थालिएको छ। त्यसैले यस्तो अवस्थामा समयमै बैठक गरेर मुलुकको राजनीतिक परिस्थितिको गम्भीरता बुझ्ने, त्यसबारे छलफल गर्ने र महाधिवेशन सुनिश्चित गर्नुपर्छ भनेर हामीले हस्ताक्षर अभियान चलाएका हौँ।
कुनै पनि हालतमा नियमित महाधिवेशन सम्भव छैन भन्ने तपाईंको आशय हो?
दृढ इच्छाशक्ति भए गर्न सक्छौँ। क्रियाशील सदस्यताको पुरानो फर्म्याट त जिल्ला जिल्लामै रेकर्डका रूपमा छ नि। त्यसलाई आह्वान गरेर नवीकरण गर्न चाहनेहरूलाई एक हप्ताभित्र नवीकरण गराउन सकिन्छ। त्यसपछि हामीले तीन तहका मात्र अधिवेशन गरे पुग्छ। पहिलो, वडा तहको अधिवेशन, जसले क्षेत्रीय प्रतिनिधिहरू छान्छ। त्यसपछि संघीय तहको अधिवेशन गर्ने। धेरैवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा संघीय तहको अधिवेशन हुन्छ, र एउटै मात्र निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा भने जिल्ला अधिवेशन नै हुन्छ, जसले केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू चयन गर्छ। धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशनका प्रतिनिधि चयन गरिन्छन्, त्यसपछि केन्द्रीय महाधिवेशन गरिन्छ।
यसका लागि मंसिर मसान्तसम्मको पर्याप्त समय छ। यतिबेलासम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सकिन्छ। त्यसपछि नयाँ नेतृत्व आउँछ, जसले चुनाव भए चुनाव, आन्दोलन आवश्यक परे आन्दोलनको तयारी गर्न सक्छ। त्यसपछि हामी सहज रूपमा फेरि पालिका अधिवेशन, प्रदेश सभा अधिवेशन, र जहाँ जिल्ला अधिवेशन बाँकी छन् त्यहाँका अधिवेशन पनि सम्पन्न गर्न सक्छौँ। प्रदेश अधिवेशन पनि गर्न सकिन्छ। अन्य प्रतिनिधिमूलक अधिवेशनहरू त पछि गर्दा पनि हुन्छ।
उपाय त रहेछ, यही उपायअनुसार महाधिवेशन गर्न र त्यसका लागि दबाब दिन केले रोक्यो?
हालको कार्यशैली र केन्द्रीय समितिको गतिविधि हेर्दा त्यसमा जिम्मेवारी र दृढता देखिँदैन। महाधिवेशन गराउने जिम्मा केन्द्रीय समितिको हो र सिंगो कार्यसमिति त्यसका लागि जिम्मेवार हुन्छ। तर, यस अवस्थामा कार्यसमिति समयमै महाधिवेशन गर्न नसकेर असफल भएको स्पष्ट छ।
२२ भदौअघि नै त्यसपछिको आहटलाई बुझ्नुपर्ने थियो। त्यसको पदचाप र जनभावनालाई पहिचान गरेर रोक्ने प्रयास गर्नुपर्ने थियो। विडम्बना, त्यसतर्फ पार्टी अग्रसर हुन सकेन।
तपाईंहरूले हस्ताक्षर बुझाएर पनि महाधिवेशन हुने ग्यारेन्टी भएन भने?
हामीलाई दबाउने प्रयास भइरहेको छ। तर, माग पूरा भएन भने के गर्ने भन्ने सोच बनाइहालेका छैनौँ। पार्टीभित्रका प्रक्रियाहरूलाई हामीले सदैव विधिपूर्वक अभ्यासका रूपमा लिएका छौँ। त्यही आधारमा विधिपूर्वक आह्वान गर्छौं, आग्रह गर्छौं। यदि विधिपूर्वक गरिएको आग्रहलाई नजरअन्दाज गरियो, मिच्ने वा थिच्ने प्रयास गरियो भने स्वाभाविक रूपमा साथीहरूसँग छलफल हुन्छ नै।

नेपाली कांग्रेसका नेता गुरु घिमिरेलगायत। तस्बिर : बिक्रम राई/नेपालन्युज
के नेतृत्व परिवर्तन गर्दैमा कांग्रेस सही होला? नीतिमा त बहस नै भइरहेको छैन?
नेतृत्व परिवर्तन मात्र गरेर कांग्रेस ठीक हुँदैन। त्यसका लागि स्पष्ट कार्ययोजना आवश्यक छ। पार्टीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ। क्रियाशील सदस्यता वितरण, संगठन निर्माणको ढाँचा र प्रारम्भिक तहदेखि केन्द्रसम्मको निर्वाचन प्रणाली व्यवस्थित गर्नुपर्दछ। पार्टीको आन्तरिक व्यवस्थापकीय ढाँचा परिवर्तन गर्नुपर्ने कुरा पनि उठेको छ। संरचनाहरू कति राख्ने, कति कम गर्ने? भ्रातृ संस्था र शुभेच्छुक संस्था कति सक्रिय राख्ने? केन्द्रीय समितिको आकार कति राख्ने?
क्रियाशील सदस्यता बढ्ने तर चुनावमा परिणाम घट्ने भयो। धेरै भ्रातृसंस्था र शुभेच्छुक संस्था भए पनि परिणाम नकारात्मक आयो। यसको कारण हाम्रो काम गर्ने तरिका, सरकार सञ्चालन गर्ने तरिका र जनभावना बुझ्न नसक्नु हो। पार्टी जनतानजिक जान सकेन। त्यसैले केवल व्यक्ति परिवर्तन गरेर सबै समस्याको समाधान हुँदैन। नेतृत्व परिवर्तन प्रस्थानबिन्दु मात्र हो।
सभापति देउवालाई सम्मानजनक बहिर्गमनको अवसर दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ। यो बेठीक हो र?
हामीले सुनेका छौँ कि सभापति पद छाड्न चाहनुहुन्छ। स्वास्थ्यका कारणले पनि उहाँले कार्यकाल पूरा गर्न कठिन छ। विधानले पुनः उम्मेदवारी दिन रोकेको छ। म्याद बढाएर काम गर्न पनि असम्भव छ। तर, उहाँवरिपरिका नेताहरू जिम्मेवार देखिएका छैनन्। बाधक त उहाँहरू हुनुहुन्छ। त्यसैले सभापतिको सम्मानजनक बहिर्गमन भनेर मात्रै हुँदैन। यत्रो असफलता, पार्टीको कमजोर स्थिति र संगठनको ध्वस्त अवस्था हेर्दा व्यापक सुधार अपरिहार्य छ।
अब कसले गर्ला त कांग्रेसको नेतृत्व?
अबको नेता को भनेर अहिलेसम्म कुराकानी भएको छैन। जब हामी प्रक्रियाभित्र प्रवेश गर्छौं, त्यसपछि नेतृत्वको विषयमा सल्लाह गर्नेछौँ। हामीबीच नेतृत्वबारे खासै विवाद छैन। सम्भावित नेताहरू छन् भने हामी मिलाइहाल्छौँ। अहिले नाम लिने अवस्था होइन।