२६ आश्विन २०८२
अ+
अ-

काठमाडौं। दमक नगरपालिका-५ धनेश्वर मन्दिरको गेटनजिकैबाट थ्रीनटथ्री राइफल बरामद भएको छ।

प्रहरीका अनुसार जेन-जी आन्दोलनको दिन भदौ २५ गते इलाका प्रहरी कार्यालयबाट लुटिएको उक्त हतियार मन्दिरको गेटनजिकै भेटिएको हो।

बेवारिसे अवस्थामा बन्दुक देखेपछि स्थानीयले आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा गएको टोलीले हतियार ल्याएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

उक्त राइफल आन्दोलनकै क्रममा दमकबाट लुटिएको पुष्टि भएको र थान १ म्यागजिन समेत फेला पारेर ल्याइएको खड्काले बताए। हतियार कसले छोडेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, जेन-जी आन्दोलनमा दमक प्रहरी कार्यालय जलाउन पुगेका युवा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।

दमक नगरपालिका-३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए-३ हट नम्बर ३५३ का साजन थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार दिउँसो साजनसहितका व्यक्तिलाई ७ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

पक्राउ परेकामध्ये थापाले दमक थानाबाट लुटेको भन्दै हतियारको फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। “उनको साथबाट हतियार भने फेला परेको छैन,” खड्काले भने।