२७ आश्विन २०८२
अ+
अ-

जुम्ला। आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ओखल हराउँदै गएको छ। यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन्।

तिला गाउँपालिका ४, नुवाकोट गाउँका राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र होइन जाँतो पनि गाउँघरमा विरलै पाइने जनाइन्। अहिले यहाँ गाउँमा नौ गाउँका बासिन्दाको धान कुट्ने ओखल छन्, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन्।

“आधुनिक कुटानी-पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ। हाल मिलमै कुटानीपिसानी हुने गरेको छ। समयको बचत हुने भएकाले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो,” सार्कीको भनाइ छ।

पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो। ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तिला गाउँपालिका ४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए।

“पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ। अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ,’ उनले भने, ‘आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सीप, प्रविधि र ज्ञान भने संकटमा छन्। तिनको संरक्षण गर्न पालिका लागिपरेको छ।” -रासस