काठमाडौं। जेन-जी समूहको अगुवा भन्दै २६ वर्षीय अर्जुनबहादुर शाही केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पुगेका थिए। अख्तियार प्रमुख प्रेमकुमार राईसँग भेटेर उनले हप्कीदप्की गरे। सुशासनमा ख्याल राख्नुपर्ने अन्यथा जेन-जीले नछोड्ने भन्दै धम्क्याए।
तिनै शाही नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई भेट्न पुगेका थिए। त्यहाँ पनि उनी धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका थिए। शाही नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा पुगेका थिए। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेटेर शाहीले उही रवाफ देखाए।
जेन-जी आन्दोलनको पृष्ठभूमि देखाएर राज्यका विभिन्न निकायको काम-कारबाहीबारे चासो र राजीनामा माग्ने शाही आफू भने ठगी तथा गैरकानुनी धन्दामा संलग्न भएका व्यक्ति रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शाहीको घर पञ्चदेवल विनायक नगरपालिका-४ हो। शाही विगत ६-७ वर्षयता उनी काठमाडौंमा सक्रिय छन्। उनलाई चाडबाडको बेलामा पनि अछाममा नआएको पाइएको खनाल बताउँछन्। “उनको पृष्ठभूमिबारे खोज्दा चाडबाडको समयमा समेत यहाँ आएको फेला परेन,” खनालले भने।
शाही अछामको साबिक कालिकास्थान गाविस-८ मा २०५५ सालमा जन्मेका हुन्। उनले अछाम जिल्ला प्रशासन कार्यालयबाट २६ चैत २०७१ मा नागरिकता लिएको देखिएको छ। “अछाममा आफ्ना घरगाउँका मानिसलाई विदेश पठाइदिन्छु भन्दै पैसा लिएर नपठाएको गुनासो आएको छ,” खनालले भने, “कसैले उजुरी दिएको अवस्था छैन, कोही ठगिएको भए प्रहरी कार्यालय आउन भनेका छौं।”
शाहीले काठमाडौंकी रोजिना थापालाई समेत ठगी गर्ने मनसाय राखेर दु:ख दिएका थिए। शाहीले २०८० सालमा थापाको सवारीसाधन खरिद गरेर चेक दिएका थिए। तर, चेक साटिएन। उनी लामो समयसम्म गाडी नामसारी नगरी फरार भए। त्यसपछि थापाले १२ चैत २०८० मा प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएकी थिइन्। प्रहरीमा उजुरी परेपछि शाही सम्पर्कमा आएर गाडी प्रकरणको हिसाब मिलाएका थिए।
शाही वैदेशिक रोजगार ठगी प्रकरणमा गत वैशाख २८ गते पक्राउ परेका थिए। विभागमा दर्ता भएको मुद्दा टुंग्याउँदा उनीविरूद्ध बैंकिङ कसुरको अर्को उजुरी प्रहरीमा तयार थियो।
प्रहरी वृत्त महाराजगन्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि वृत्तले शाहीलाई उपस्थित गराइदिन ३० वैशाख २०८२ मा विभागलाई चिठी लेखेको थियो। विभागबाट मुद्दा टुंगिएपछि प्रहरीमा उपस्थित गराइएकामा शाही अदालतमा ३० हजार धरौटी बुझाएर छुटेका थिए। शाहीविरुद्ध २३ पुस २०८१ मा प्रहरी वृत्त बौद्धमा चेक बाउन्सको अर्को उजुरी परेको थियो। उनीविरूद्ध सात लाख रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई ‘नोटिस’मा राखेको छ। प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सरकारी कार्यालयमा गएर कानुनविपरीतका कार्य गर्ने र मर्यादा भंग गर्ने व्यक्ति कारबाहीको दायरामा आउने बताए। “हाम्रो कुरा स्पष्ट छ, सेवासम्बन्धी गुनासोबाहेक सेवा प्रवाहमा अवरोध गर्न खोज्ने, कार्यालय प्रमुखलाई धम्क्याउन जाने, कार्यालय प्रमुखको मर्यादा भंग गर्ने, हुलहुज्जत गर्ने व्यक्ति कानुनी दायरामा आउँछन्,” भट्टराईले भने। शाहीविरूद्ध तत्कालै भने कुनै जाहेरी नरहेको भट्टराईले बताए।
शाही १५ वैशाख २०८१ मा इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेका थिए। डोजर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार उठेका शाहीले जम्मा ५५ मत ल्याएका थिए। सुवासचन्द्र नेम्वाङको मृत्युपछि भएको उपनिर्वाचनमा उनका छोरा सुहाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए।