काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

तेस्रोपल्ट टी-२० विश्वकपमा नेपाल

२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल फेरि एकपटक आईसीसी टी-२० विश्वकपमा पुग्दा टोलीका कप्तान रोहितकुमार पौडेलका लागि यो क्षण शब्दभन्दा परको अनुभूति बनेको छ।

उनी खुसी साट्दै सामाजिक सञ्जालमा भन्छन्,‘हामीले सपना देख्यौं, विश्वास गर्‍यौं र अन्ततः सफलता प्राप्त गर्‍यौं।’ अब नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी-२० विश्वकपमा आफ्नो झन्डा फर्फराउनेछ।

सुपर सिक्स चरणअन्तर्गत यूएईले समोअलाई बुधबारको खेलमा हराएपछि पौडेलको कप्तानीमा नेपालले दोस्रोपल्ट र समग्रमा तेस्रोपल्ट विश्वकप यात्रा सुनिश्चित गरेको हो। अघिल्ला दुई खेल (समूह चरण र सुपर सिक्स)मा पराजित भएको समोअलाई यो खेल जित्नै पर्ने दबाब थियो। तर, सन् २०१४ र २०२२ मा दुईपल्ट विश्वकप खेलिसकेको यूएईले दिएको २२६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा समोअले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।

यस नतिजासँगै अपराजित नेपाल र ओमानले दुई खेल बाँकी रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे। अंक तालिकामा दुवै टोलीको ६-६ अंक छ। नेट रनरेटका आधारमा ओमान अगाडि र नेपाल दोस्रो स्थानमा रहेको छ।

अब बाँकी खेलहरूले शीर्ष स्थान तय गर्ने भए पनि उत्कृष्ट तीन टोली विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमान सुरक्षित छन्। यो नेपालको तेस्रो टी-२० विश्वकप सहभागिता हो। सन् २०१४ मा पारस खड्काको कप्तानीमा नेपालले पहिलोपटक टी-२० विश्वकपमा डेब्यू गरेको थियो। त्यो बेला नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो।

तर, बाङ्लादेशसँगको अन्तिम खेलमा आठ विकेटले हार्दा अघिल्लो चरणमा पुग्न चुकेको थियो। उनै पारसले विश्वकपको ट्र्याक मात्रै खोलेनन् त्यही मञ्चमा पुग्ने सपना देख्ने खेलाडी पनि जन्माए। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र सन्दीप लामिछानेजस्ता धेरै खेलाडसँगै नेपाल पछिल्लो समय रोहितको कप्तानीमा लगातार दोस्रोपल्ट सोही मार्गमा हिँड्न सफल भएको हो।

पारस लेख्छन्,‘सपना र वास्तविकताबीचको यात्रामा हामी तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं। नेपाल क्रिकेटसँग जोडिएका सबैलाई हार्दिक बधाई र शुभकामना। हामी सबै मिलेर यो अद्भुत यात्राको नयाँ अध्याय सुरु गर्दै छौं।’

पारसको कप्तानीमा नेपालले सन् २०१५ र २०१९ मा दुईपल्ट छनोट नखेलेको होइन। तर, उपलब्धि भने हात पर्न सकेको थिएन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको ग्लोबल छनोटमा ६ खेल खेलेको नेपालले अमेरिकाबाहेक अन्य टोलीलाई पराजित गर्न सकेन। त्यसको चार वर्षपछि पनि नेपालको प्रदर्शन उस्तै दयनीय रह्यो।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछाने। तस्बिर : क्यान

आयोजक सिंगापुरसँग ८२ रन र कतारसँग चार विकेटले पराजित हुँदै नेपाल एसियाली क्षेत्रमै रोकियो। त्यसपछि पारस कप्तानीबाट बिदा लिएर नेतृत्व लिने ठाउँतर्फ होमिए। त्यसयता नेपाली टोलीको ‘स्टेरिङ’ ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलले पालैपालो समय र अगाडि बढाए।

सन् २०२२ मा ओमानमा भएको ग्लोबल छनोटमा नेपाल सन्दीप लामिछानेको कप्तानीमा सेमिफाइनलसम्म पुगेको थियो। तर, समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा पुगेको नेपाल यूएईसँग हार्दा विश्वकपको ढोका बन्द भयो। तर, २०२३ मा घरेलु मैदानमा भएको अर्को छनोटमा नेपालले नयाँ कप्तान रोहित पायो। कान्छो कप्तानको नेतृत्वमा नेपालले अघिल्लो छनोटमा यूएईसँग बेहोरेको बदला मात्रै लिएन आठ विकेटले जित निकाल्दै एक दशकपछि विश्वकपमा पुनरागमन गर्न सफल भयो। त्यसयता नेपालले पछाडि फर्किएर हेर्न परेको छैन।

गत वर्ष वेस्ट इन्डिज र अमेरिकामा भएको विश्वकपमा नेपालको प्रदर्शन मिश्रित रह्यो। समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको नेपालले श्रीलंकासँगको खेल वर्षाका कारण खेल्नै पाएन। दक्षिण अफ्रिकासँग जितनजिक पुगेर पनि एक रनले पराजित भयो।

अन्तिम खेलमा बाङ्लादेशसँग २१ रनले पराजित हुनुअघि नै नेपाल समूह चरणमै रोकिसकेको थियो। त्यतिखेरै रोहितले भनेका थिए,‘हाम्रो यात्रा रोकिएको होइन, बल्ल सुरु भएको हो। पुन: हामी यही मञ्चमा फर्किने छौं, बलियो भएर।’ त्यस सहभागिताबाट नेपालले धेरै सिकाइ बटुल्यो, जुन सफलतामा परिणत भएको देखिन्छ। यसलाई रोहित पनि स्वीकार्छन्।

‘सपना अब वास्तविकतामा बदलिएको छ। यो क्षण हामीमा विश्वास राख्ने र साथ दिने प्रत्येक नेपालीलाई समर्पित छ। तर, सपना यहाँ टुंगिँदै। यो त नयाँ यात्राको सुरुआत मात्र हो,’ उनी लेख्छन्। दुईपल्ट विश्वकपमा पुर्‍याएर कीर्तिमान रचेका रोहितको कप्तानीमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै नेपालले समर्थकको मात्र होइन, विश्व क्रिकेटको पनि विश्वास जितेको छ।

ओमान जानुअघि टेस्ट राष्ट्र वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० आई सिरिज २-१ ले जितेको नेपालको लक्ष्य अब त्यस्तै टोलीलाई हराउनेछ। आश गरौं नेपालले विश्वकपमा पुन: त्यस्तै इनिङ्स खेल्नेछ र समूह चरणबाट माथि उक्लिनेछ।