‘निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्त्व लागिपरेका छन्, त्यस्तालाई सम्झाइबुझाइ गर्नु आवश्यक छ’
भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा उनले फागुन २१ मा सरकारले निष्पक्ष निर्वाचन गराउने बताए।
उनले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई संवादमा आउन आग्रह गरे। उनले भने, “निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्न आवश्यक छ। त्यसका लागि सरकारले सहजीकरण गरिरहेको छ। सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको हो, निर्वाचनमार्फत जो कोही पनि आउन सक्छन्, तर त्यसका लागि सबैबीच समन्वय भएर अगाडि बढ्न जरुरी छ।”
निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्त्व लागिपरेको भन्दै गृहमन्त्री अर्यालले त्यस्ता तत्त्वलाई सम्झाइबुझाइ गर्नु आवश्यक रहेको बताए। उनले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरेको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताए।
शान्ति, सद्भाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्त भएकाहरू नै लागिपरेको गृहमन्त्री अर्यालको टिप्पणी छ। उनले भने, “भक्तपुर शान्तपूर्ण जिल्ला हो, तर अपदस्त भएकाहरूकै कारण देशमा विद्रोह भएकाले तिनीहरूलाई यो ठाउँबाट नकराउन र देशको राजनीति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौँ।”
उनले आन्दोलनका क्रममा सवारीसाधन जलेको र हतियार लुटिएकाले सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न लागेको र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए।
गृहमन्त्री अर्यालले भदौ २४ गते आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको अवलोकनसमेत गरेका थिए। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलनका क्रममा भएको क्षति र त्यसपछि उत्पन्न असहजता तथा शान्तिसुरक्षाबारे जानकारी गराएका थिए।