विराटनगर। प्रहरीले विराटनगरबाट ८ लाख ४७ हजार रुपैयाँसित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका १२, सैनिक टोलबाट रकमसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कवित कटवालले जानकारी दिए।
पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ का ४६ वर्षीय नवीन साह छन्। उनको साथबाट प्रहरीले स्रोत नखुलेको ८ लाख ४७ हजार रुपैयाँ बरामद गरेको हो। कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको बीआर३८भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्दा हेल्मेटभित्र लुकाइएको अवस्थामा उक्त रकम फेला परेको हो।
स्रोत नखुलेको रकम गैरकानुनी हुन्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुन्डी कारोबारले प्रचलित बैंक तथा वित्तीय ऐनको दायित्व पूरा नगर्ने हुनाले गैरकानुनी मानिन्छ।