काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा युवा संघका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भई अहिले काठमाडौंको धुम्बाराही बस्ने सोनम थेबे छन्।

थेबेलाई महाराजगन्ज क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। “उहाँलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ,” भट्टराईले भने।
पूर्वराष्ट्रपति भण्डारीको घर जलाउँदा उनको मुख्य भूमिका देखिएको भट्टराईले बताए। थेबे आपराधिक पृष्ठभूमिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

“उहाँमाथि आपराधिक उपद्रव, तोडफोड र आगजनी कसुरमा अनुसन्धान थालिएको छ,” भट्टराईले भने। थेबेमाथि धुम्बाराही क्षेत्रका होटेल तथा रात्रिकालीन व्यवसायी र जग्गा कारोबारीलाई धम्क्याउँदै रकम असुल गरेको आरोप छ। “गुन्डागर्दीको आवरणमा असुल गरेर दु:ख दिएको जानकारी छ,” उनले भने, “सबै विषयमाथि अनुसन्धान हुन्छ, कडाभन्दा कडा कारबाहीका लागि विस्तृत अनुसन्धान थालेका छौं।”

जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको चक्रपथस्थित भंगालमा रहेको घर जलाइएको थियो। भण्डारी राष्ट्रपति हुनुपूर्व एमाले उपाध्यक्ष थिइन्। दुई कार्यकाल राष्ट्रपति पद सम्हालेर बिदा भएकी उनी अहिले एमाले राजनीतिमा सक्रिय छिन्। थेबे युवा संघको कुन तहको कार्यकर्ता हुन् भन्नेबारे प्रहरीले खोजी गरिरहेको एसपी भट्टराईले बताए।