काठमाडौं। युगान्डामा बुधबार भएको सवारीसाधन दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ।
राजधानी कम्पालालाई उत्तरी सहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरूमध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको थियो।
युगान्डा प्रहरी बलले मध्याह्न करिब सवा १२ बजे दुई उच्च गतिका बस आपसमा ठोक्किएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार एक बस चालकले दुर्घटनाबाट जोगिन बेस्सरी स्टेयरिङ मोडेका थिए। जसका कारण धेरै सवारीसाधनहरू पल्टिएका थिए । ती केही एक-अर्कासँग ठोक्किएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
त्यहाँको प्रहरी प्रवक्ताले मृतकहरूको पहिचान भइरहेको जनाएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था चिन्ताजनक छ। सबैलाई पश्चिमी सहर किरियान्डोंगोको अस्पतालमा भर्ना गरिएको छ।
स्थानीय अधिकारीहरूले घटनास्थलमा उद्धार अभियान सुरु गरेका थिए। केही समय राजमार्ग अस्थायी रूपमा बन्द गरिएको थियो।
युगान्डामा, रातमा लामो दूरी यात्रा गर्ने सवारीसाधनहरूको तीव्र गति, ओभरलोडिङ र लापरबाहीले प्रत्येक वर्ष सयौंको मृत्यु हुने तथ्यांक रहेको दाबी गरिएको छ।