काठमाडौँ
००:००:००
३ मंसिर २०८२, बुधबार

५ कार्तिक २०८२
अ+
अ-

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्।

नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस संवत्ले हामी सबैको एकतालाई मजबुत बनाओस् भनी कामना गरे।

नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालोतर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस्।”

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको उल्लेख गरेका छन्। “नेपाल संवत्को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकामा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको हो”, सन्देशमा भनिएको छ।

शङ्खधर साख्वाले गरिबको ऋण मोचन गरिदिएको खुसियालीमा यो संवत् सुरु गरेको स्मरण गर्दै सन्देशमा उनले भनेका छन्, “साख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराइ स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरे, त्यसै अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नताविरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पुर्याएओस्।”