काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री कार्कीलाई कलाकारहरुको जवाफ- सरकारले खुट्टा दह्रो टेकोस्, साथमा हामी छौँ

५ कार्तिक २०८२
तस्बिर : प्रदीपराज वन्त/रासस
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन्।

समकालीन नेपाली सिनेमाका चर्चित नौजना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटेर भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे।
‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्नलायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।’

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक ठीक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’

यो परिवर्तन नरुचाएका तत्त्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकामा पनि कलाकारहरूले चिन्ता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तो दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उनीहरूले आग्रह गरे।

अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ। सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सह्राहना गर्दै कलाकारहरुले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताएका थिए।

‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्त्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन। ढुक्कसँग अघि बढ्नुहोस्। तपाईंको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ। र, यतिखेर सकारात्मकताको खाँचो छ।’

विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्त्व नदिन पनि कलाकारहरुले प्रधानमन्त्रीलाई सुझाए। साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रीमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि कलाकारहरुले व्यक्त गरेका थिए।

भेटका अवसरमा संगीतकार कालीप्रसाद बास्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ। सम्हाल्न गाह्रो छ। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्। त्यस्ता तत्त्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो।’

‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्त्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्’

यो सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रुपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तनपक्षधर सबै एक-ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको पनि सर्जकहरूले औँल्याएका थिए।

अभिनेता विजय बरालले भने, ‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ। जनताबाट तिरष्कृत एउटा फुच्चे पावर अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ।’

प्रधानमन्त्री कार्कीले छलफलको अन्त्यमा भनिन्, ‘साथ सहयोग सबैको चाहिन्छ। समाजमा तपाईंहरूको प्रभाव छ। दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी-कमजोरी भए पनि औँल्याइदिनुहोस्। तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।’

भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बास्कोटा, ऋचा शर्मा, कर्मालगायतको उपस्थिति थियो।
भेटघाटको संयोजन पुकार बमले गरेका हुन्।