जेनेभा। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१औं महासभामा सहभागी हुन जेनेभामा रहेका दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।
अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे। एक लाख ८० हजार बढी नेपाली अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थी अस्ट्रेलियामा अध्ययन गरिरहेको जनाए।
अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरेका थिए।
आईपीयू महासचिव र भारतीय प्रतिनिधि मण्डलसँग भेट
यसैबीच अध्यक्ष दाहालले जेनेभामा अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका संघ (आईपीयू) का महासचिव मार्टिन चुङगोङसँग भेट वार्ता गरेका छन्।

भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता-जनताबीचको सम्बन्ध निकै बलियो रहेको बताए । नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए। त्यस्तै आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह पनि गरे।

आईपीयूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए। संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालको भनाइ थियो।