काठमाडौँ। अञ्जिला तुम्बाप्पो सुब्बा चार महिना २२ दिनपछि नेपाली राष्ट्रिय महिला टोलीको सुरुआती-११ मा गोलकिपरको रूपमा फर्किएकी छन्। शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा इरानसँग केही बेरमा हुने खेलका लागि उनले मौका पाएकी हुन्।
उनले अन्तिमपल्ट २ जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। उक्त खेलमा उनको कप्तानीमा रहेको नेपालले २–० को हार बेहोरेको थियो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकमा बेल्जियम नागरिक प्याट्रिक डे वाइल्डलाई नियुक्त गरेसँगै उनको कप्तानी र गोलपोस्टको जिम्मेवारी खोसिएको थियो।
उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरले पाएकी थिइन्। यस्तै, कप्तानी जिम्मेवारी भने स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को काँधमा पुगेको थियो। तर, उक्त विवादपछि प्याट्रिक राजीनामा दिएर स्वदेश फर्किएका थिए।
उनको उत्तराधिकारी बन्दै नेपाली टोली सम्हालिरहेका नवीन न्यौपानले अञ्जिलालाई पुरानै जिम्मेवारीमा फर्काएका हुन्। कप्तानी भने सावित्राले नै सम्हाल्ने छिन्।
उनको प्रशिक्षणमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो। तर, अन्तिम खेलमा घरेलु टोलीसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो।
तर, पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपालले यही वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कप खेल्ने मौका गुमाएको थियो।