काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन-जी युनाइटेड समूहले आपत्ति जनाएको छ। रिपोर्टर्स क्लबमा शनिबार पत्रकार सम्मेलन गर्दै जेन-जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन्।

जेन-जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेसन हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीलाई विनासर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए। आफूहरुको माग पूरा नभएसम्म आन्दोलन भने निरन्तर अगाडि बढिरहने उनको चेनावनी छ।

‘हामी जेन-जीहरु आन्दोलन गर्दै गर्दा युनिफिकेसन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी। सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो। हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो। हाम्रो युनिफिकेसन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो,’ उनले भने।

त्यस्तै मन्जना राईले जेन-जीले बनाएको सरकारले जेन-जीलाई नै टुक्रा-टुक्रा बनाउन चाहेको टिप्पणी गरिन्। ‘हाम्रै आँखाअगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ। जेन-जीले बनाएको सरकार छ। जेन-जीलाई नै टुक्रा-टुक्रा बनाउनका लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन्। आफूहरुले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भए पर्सि देशैभरि रणनीति बनाएर अगाडि बढ्ने उनको भनाइ छ।

जेन-जी आन्दोलनका घाइते भूपेन्द्र खड्काले सरकारले जेन-जीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए। घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गरिरहेको उनको आरोप छ।