काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
अ+
अ-

गोरखा। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावनाअनुसार अघि बढ्ने शक्ति आफ्नो पार्टी रहेको दाबी गरेका छन्।

उनले जेन-जी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिए। “जेन-जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,” उनले भने । गोरखामा आइतबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले हालको अन्तरिम सरकारप्रति पनि कटाक्ष गरेका छन्।

“केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसद्‌बाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद् विघटन गरौँ भन्ने थियो। जेन-जी आन्दोलन हाम्रा उत्तराधिकारी हुन् । हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।”

चुनावको सन्दर्भमा अध्यक्ष दाहालले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे। “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन,” उनले भने।

त्यस्तै दाहालले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको दाबी गरे। “हाम्रो पार्टीले अहिले जिल्ला-जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आमजनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।”

उनले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गरे। “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकताविरोधी र नेतृत्वविरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।” उनले आफ्ना सबै कार्यकर्तालाई सचेत रहन आह्वान पनि गरे। कार्यक्रममा भने, “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”