काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले निर्धारित समयमै पार्टीको नियमित महाधिवेशनको पक्षमा निर्णय हुने बताएका छन् । उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन निर्णय गर्ने जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत् एकतामा जोड दिइने बताए ।
‘सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर हामी पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नुभएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत् एकतामा जोड दिइनेछ,’ उनले भने।
खड्काले २३ र २४ भदौको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै त्यसलाई अनुकूलतामा पुर्याउन पार्टीले भूमिका खेल्नुपर्ने उल्लेख गरे । खड्काले देश इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा उभिएको पनि बताए। उनले देशमात्र नभई नेपाली कांग्रेस पार्टी पनि प्रतिकूल अवस्थामै रहेको बताए। संविधानमार्फत नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली, शासनको मालिक जनता हुने पद्धति स्थापना भएको घडीमा ठूलो ध्वंश बेहोर्नुपरेको उनको भनाइ छ।
‘शासनको मालिक जनता हुने पद्धति स्थापना गरेर एउटा राजनीतिक परिवर्तनलाई संस्थागत गरिरहेको घडीमा हामीले अत्यन्त ठूलो ध्वंश बेहोर्नुपरेको छ,’ उनले भने । साथै खड्काले ००७ सालको शान्तिको प्रतीक विराटनरस्थित कोइरालानिवास, लोकतन्त्रका लागि विगुल फुकेको गणेशमान सिंहको निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रमसहित देशभरका कांग्रेस कार्यालय खरानी भएको चर्चा गर्दै जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा पनि गरे।