महोत्तरी। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ।
मिथिलाका सबै घाटमा व्रतालुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन्। गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो।
छठ मनाउन सम्पूर्ण मिथिलावासी आज (सोमबार) आ-आफ्ना घरमा गुलियो परिकार ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकियामा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद् ध्रुव राय बताउँछन्। जलेश्वर नगरपालिका १ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ।

यस पर्वको पहिलोदिन व्रतालुले नहा खा अर्थात् नुहाएर खाने गर्छन्। दोस्रो दिन खरना मनाइएको थियो। खरनाका दिन व्रतालुले दिनभरि निराहार उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाइन (विनानुनको) खानेकुरा खाएका थिए।
यस पर्वलाई व्रतालुले भोलि (मंगगलबार) बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गर्छन्।
