काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
सबै तस्बिर : ऊर्जामन्त्री कुलमान घिसिङको सचिवालय
अ+
अ-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

४० देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकसम्म चल्नेछ। आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायत विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाउने भएका हुन्।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य/विशेष सम्बोधन गर्नेछन्।

सन् २०१५ को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकताअनुरुप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्य राखी आईएसएसम्बन्धी पेरिस घोषणा जारी भएको थियो।

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविष्यमा प्रयोग हुने प्रविधिअनुकूल मार्गनिर्देश गर्नेलगायत काम गर्न आईएसए स्थापना भएको थियो।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधिसभाले अनुमोदन गरेपछि नेपाल १०१औं सदस्य राष्ट्रका रुपमा २०८१ भदौमा आबद्ध भएको थियो। महासभामा सहभागी भएर मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।