काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले कानुन कार्यान्वयन तथा समाजमा हुने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा रहेको बताएका छन्।
प्रहरीको भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी-कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न मातहतका प्रहरी, कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिए। प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्।
त्यसअवसरमा उनले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण पनि गरेका थिए। साथै भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई आईजीपी खापुङले प्रशंसापत्र पनि प्रदान गरे। उनले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आमनागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीकसमेत भएको उल्लेख गरेका थिए।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) दानबहादुर कार्की, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख (प्रहरी उपरीक्षक) सूर्यबहादुर खड्का, प्रहरी नायब उपरीक्षक केविनजंग थापालगायतको उपस्थिति थियो। सरकारको नियमित बजेटबाट चार करोड ४६ लाख १८ हजार १९७ रूपैयाँ २२ पैसामा भवन बनेको हो।