काठमाडौँ। निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरुसँग वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक सरकार, राजनीतिक दल र जेन-जी पुस्तासँग वार्ता गर्ने भएको छ।
सरकारले भोलि (बुधबार) त्रिपक्षीय बैठकको आयोजना गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अपराह्न ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेन-जी समूहबीच छलफल हुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको जनाए। उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरुसँग चरणबद्ध वार्ता र छलफल भइरहेको बताए।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए। यसबचीमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बन्धित पक्षको भनाइ छ।
निर्वाचन आयोगसँग पनि सरकारले विभिन्न चरणमा छलफल गरी चुनावको वातावरण बनाउन प्रयास गरिरहेको छ। आयोग पनि निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ।