काठमाडौं। बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक महामन्त्री गगनकुमार थापा अनुपस्थित रहे । कार्यवहाक सभापति पूर्णबहादुर खड्कासँग बैठकको एजेन्डामा सहमती नमिले पश्चात् उनले बैठकमा उपस्थित नभएको निकट स्रोतले बतायो ।
निकट नेताहरूको अनुसार बिहीबार बिहान कार्यवहाक सभापति खड्का सँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले संवाद गरेका थिए । जहाँ मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा कुरा मिलेको थिएन ।
“मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्छ भन्दा पूर्ण दाइले नमाने पश्चात् उहाँ बैठकमा जानुभएन‚” ती नेताले भने ।
थापा निकट केन्द्रीय सदस्य मधु आचार्यले पनि आजको बैठकमा महामन्त्री थापा अनुपस्थित रहेको जानकारी दिए । “अफिसियलली बहिस्कार त भन्नुभएन । तर उहाँ बैठकमा उपस्थित हुनु भएन‚” उनले भने ।
आफूले महामन्त्री थापासँग संवाद भने नगरेको भन्दै उनले कार्यतालिकाको विषयमा कुरा नमिलेनको हुन सक्ने बताए । उनले आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका प्रस्तुत नभएको पनि बताए ।
“हामी हलमा पुगेपश्चात् पछि कार्यवहाक सभापति आउनुभयो । महामन्त्री विश्व जी आउनु भयो तर‚ गगन जी आउनु भएन । किन आउनुभएन भनेर कारण खोज्ने अवस्था पनि रहेन‚” आचार्यले थपे ।
कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नभए पुषमा विशेष महाधिवेशन गर्नुपर्ने मत महामन्त्री थापा पक्षधरको छ । संस्थापन समूह भने वैशाखमा नियमित महाधिवेशन धकेल्न चाहान्छ । यही विषयमा अहिले कांग्रेसभित्र ध्रुविकरण भइरहेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर मंसिरमा नियमित महाधिवेशन नभए पुषमा विशेष महाधिवेशन गर्नुपर्ने माग गरिरहेका छन् ।