“एमाले केवल एउटा राजनीतिक संगठन होइन। यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो।”
काठमाडौँ। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता तयारी तीव्र भइरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छुटेर गएकालाई पार्टीमा फर्किन आह्वान गरेका छन्।
फेसबुकमार्फत शुक्रबार भावनात्मक सन्देश लेख्दै ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको उल्लेख गरेका छन्।
उनले देशको स्वतन्त्रता जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र विकासका निम्ति काम गर्ने कुरामा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी पनि गरेका छन्। उनले एमाले केवल एउटा राजनीतिक सङ्गठन मात्र नभई जनताको रगत, पसिना र आँसुबाट बनेको विशाल परिवार भएको उल्लेख गरेका छन्। “एमाले केवल एउटा राजनीतिक संगठन होइन। यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो।”
उनले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा भएको दाबी पनि गरेका छन्। “यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ‚” उनले लेखेका छन्।
अध्यक्ष ओलीले विगतमा एमाले निर्माणमा साथ दिएका सबै नेता-कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन्। “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,” उनले लेखेका छन्, “फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ- देशको स्वतन्त्रता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ। जुटौँ।”
एमालेलाई फेरि बलियो पार्न काँधमा काँध मिलाउन पनि उनले आह्वान गरेका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य स्पष्ट रहेको दोहोर्याउँदै राष्ट्रिय शक्ति निर्णायक हुने बताएका छन्।