डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको नगर प्रमुख गोपी हमाल बताउँछन्।
धनगढी। घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन्।
धनगढी उपमहानगरपालिका ३, चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन्।
टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन्। केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षणसमेत गराएका थिए।
डिपोसँगै जोडिएको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझा घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने बताउँछन्। शुभकामना टोलमा ८७ घरधुरी छन्। ती घरमा चार सयभन्दा बढी मानिसको बसोबास छ।
“दुई वर्षअघि देखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन‚” अध्यक्ष ओझाले भने, “तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ।”
केही वर्षपहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ।
चटकपुरका धर्मसिंह-माधवी ऐर दम्पत्तिलाई अहिले रातमा राम्रोसँग निद्रा पर्दैन। घरैअगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्य हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने चिन्तामै बाँचिरहनुपरेको उनीहरु सुनाउँछन्। डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको गुनासो गर्दै स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक सरोकारवालालाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताउछन्।
पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ। टोल विकास संस्थाका अध्यक्ष ओझा तिहारमा पटका नपट्काउन अनुरोध गर्दै हिँड्नुपरेको सुनाए।
केही वर्षपहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। धनगढी-अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सीपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन्।
केही वर्षअघि डिपोको पूर्वतर्फ रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ।
डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको नगर प्रमुख गोपी हमाल बताउँछन्।
डिपोकै नजिक कक्षा १० सम्म अध्ययन हुने धनगढी प्रज्ञा सदन सञ्चालनमा छ। उक्त विद्यालयमा ४०० बढी विद्यार्थी अध्यनरत छन्। विद्यालयका प्राचार्य तीर्थराज फुलारा आफूहरू सधैँ त्रासमा रहेको र असुरक्षित महसुस गरिरहनुपरेको बताउँछन्।