काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हत्यामा संलग्न दुईजना पक्राउ

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। ९ कात्तिकदेखि बेपत्ता भएका झापाका एक युवकको शव फेला परेको छ। शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको शव शनिबार हत्या गरेर गाडेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहान झापा गाउँपालिका ५ को बिरिङ खोलाको पुलमुनि शर्माको शव भेटिएको हो। प्रहरीले गाडेको ठाउँबाट शव उत्खनन् गरेको छ।

खड्काका अनुसार शर्मा साथीलाई भेट्न भन्दै ९ कात्तिकको दिउँसो साढे ३ बजे घरबाट कार लिएर हिँडेका थिए। उनी चढेको बागमती प्रदेश ०१-०३०च ७१९४ नम्बरको कार दुई दिनअघि बिहीबार मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो। “कार भेटिएको स्थानदेखि शव फेला परेको ठाउँ करिब २०-२२ किलोमिटर टाढा पर्छ,” खड्काले भने।

पुलमुनि हत्या गरेर शव गाडिएको र माथिबाट टिनले छोपिएको थियो। “घटनाको प्रकृति हेर्दा तीन–चार दिनअघि नै हत्या भएको देखिन्छ,” खड्का भन्छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। खड्काले अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारिएको बताए। “पक्राउ परेकामध्ये एक जनाको हात डढेको अवस्थामा भेटिएको छ, जसको गाडी जलाउने क्रममा चोट लागेको हुन सक्छ,” उनी भन्छन्।

शर्मा काठमाडौं बसेर आईटी क्षेत्रमा काम गर्दै आएका थिए। दसैं-तिहार मनाउन घर गएका उनी छठपछि काठमाडौं फर्किने तयारीमा थिए। शर्मा बेपत्ता भएपछि आफन्तले १० कात्तिकमा प्रहरीमा खबर गरेका थिए। शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए।