काठमाडौं। चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। कौडा र नगदसहित ती व्यक्तिलाई नगदसहित आइतबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।
पक्राउ परेका व्यक्ति महादेवस्थानको एक घरमा हारजित हुने गरी जुवा खेलिरहेका थिए। उनीहरूलाई १६ थान कौडा र १ लाख ७२ हजार ५० रुपैयाँसहित पक्राउ गरिएको भट्टराईले बताए।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-६ की ४४ वर्षीया सरिता गिरी, मकवानपुर, थाहा नगरपालिका-१२ घर भई चन्द्रागिरी नगरपालिका-३ बस्ने ३२ वर्षीय राजु लामा, धादिङ गल्छी गाउँपालिका-४ घर भई चन्द्रागिरी नगरपालिका बस्ने ३६ वर्षीय नारायण अधिकारी छन्।
यसैगरी, अन्य पक्राउ पर्नेमा धादिङ, धुनिबेसी नगरपालिका-६ घर भएका ३१ वर्षीय मिलन तमाङ, चन्द्रागिरी नगरपालिका-७ का ३४ वर्षीय शनी खड्का र मकवानपुर थाहा नगरपालिका-१२ का २७ वर्षीय सम्राट स्याङतान रहेका छन्। उनीहरू सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।
कास्कीमा सात जना पक्राउ
पोखरा महानगरपालिका-२४ कास्की हेम्जामा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन्। शनिबार दिउँसो साढे १२ बजे प्रहरील ७३ हजार २०५ रुपैयाँ नगद, तास र जुवाजन्य सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी कसुरमा सात दिन थुनामा राख्ने अनुमति लिइएको कार्कीले बताए।