काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज (सोमबार) शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्धनलगायत विषयमा छलफल भएको थियो। यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गरे। उनले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा उल्लेख गरे।

जेन-जी आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उत्तरदायी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनप्रति जनआकांक्षा राष्ट्रिय एजेन्डाका रूपमा स्थापित भएको बताए। उनले आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकताबारे समेत जनाए।

नेपालले आगामी वर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उक्त लक्ष्यलाई दिगो बनाउन जर्मनीलगायत विकास साझेदारहरूको पुँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताए।

भेटमा राजदूत उदो युगेन भोल्जले नेपाल-जर्मनी सम्बन्ध अत्यन्तै घनिष्ट र बलियो रहेको उल्लेख गर्दै नेपालको सरकारलाई जर्मनीको निरन्तर समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए।